
रोमन आचार्य
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह आमहड्तालको विन्दुमा पुगेको बेला राज्यसञ्चालन गरिरहेको नेकपाकै अर्को समूहको शक्ति प्रर्दशन गर्ने र असंवैधाधिक कदमलाई ‘क्रान्तिकारी’ देखाउने माध्यम पनि सडक नै बनेको छ ।
तर, सडक संघर्षको असली हकदारको जनमत पाएको र आफूलाई लोकतन्त्रवादी दावी गर्ने नेपाली कांग्रेस संविधानवाद र लोकतान्त्रको ‘चिरहरण’ हुँदा समेत सशक्त आन्दोलन गर्नबाट चुकेको छ । कांग्रेस केवल जनताको आँखामा छारो हाल्नमा सीमित देखिएको छ ।
संसद विघटनविरुद्ध यतिबेला सडकमा चारतारे झण्डाको पछाडि जनसागर उर्लनुपर्ने हो । मुलुक नै देशभरका लोकतन्त्रवादीहरू संविधान रक्षाका लागि आन्दोलित हुनुपर्ने हो । बिडम्वना उक्त जिम्मेवारी निर्वाह गर्नुपर्ने कांग्रेस यति कमजोर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘मत्ता हात्ती’ हुँदा समेत मौन समर्थक बनेको छ ।
चरणबद्ध विरोधसभा गरिटोपलेको कांग्रेसले संविधान रक्षाका लागि प्रभावकारी कदम चाल्न चुक्दा लोकतन्त्रवादी तमाम नागरिक निराश भएका छन् । त्यसो त कांग्रेसको विरोधसभाले जनतामा आशाको त्यान्द्रो पलाउन नसकेको तितो यर्थाथलाई कांग्रेस नेताहरू स्वीकार गर्छन् ।
प्रतिनिधि सभा विघटनलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनको पराकाष्ट भने पनि अहिलेसम्म गरेका विरोध कार्यक्रम औपचारिकतामा मात्र सिमित हुन पुगेका छन् । कारण कांग्रेसभित्रको दुरदर्शिताको खडेरी र नेतृत्वको लोभी चरित्र नै हो । निर्वाचन हुनसके पनि शक्ति आर्जन गर्ने ‘दिवास्वपन’ मै रमाइरहेको कांग्रेस, नेतृत्वकै कारण असंवैधानिक कदमविरुद्धको विरोधलाई प्रभावकारी बनाउन सकिरहेको छै ।
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक किशोर नेपाल पनि कांग्रेसको क्रियाकलापहरू प्रभावहीन भएको तर्क गर्नुहुन्छ । भलै विघटनको मुद्दा अदालतमा छ, तर सडकको असन्तुष्टिको आवाज उत्तिकै शक्तिशाली हुन्छ । कांग्रेसले चुनाव, सत्ता र शक्तिको मोह भङ्ग गरी संसद पुर्नस्थापनाको पक्षमा सडक संघर्षको नेतृत्व गर्नु पर्ने आवाज बलियो बन्दै गएको छ ।
दशकौं संघर्ष र बलिदानको उपलब्धिस्वरूप प्राप्त संविधानमाथिको हमला लोकतान्त्रिक शासन व्यवस्थामा मान्य हुने विषय होइन । संविधानमा नभएको अधिकार प्रयोग गर्ने र राज्यसञ्चालन व्यवस्था कमजोर बनाउने छुट कार्यकारी प्रमुखलाई छैन । यो तथ्यलाई नजरअन्दाज गरेर सत्ता र शक्तिको ललिपपमा भुल्दै जनभावनालाई कुल्चिने छुट लोकतन्त्रवादी भन्न रुचाउने कांग्रेसलाई छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्