१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शीर्ष नेताको बोलीमा आक्रामक बन्दा देशकाे राजनीति मुठभेडतर्फ


0
Shares

रोमन आचार्य
काठमाडौं । संविधानवाद्लाई ‘आइसीयू’ मा धकेलेर कामचलाउ सरकार प्रमुख केपी शर्मा ओली आफूलाई ‘राजनेता’ घोषणा गर्न सडकमा ओर्लिनुभएको छ । नेकपाको अर्को खेमा दाहाल–नेपाल समूह पनि सडकबाटै ओलीलाई सत्ताच्यूत गर्ने र विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना गरेर शक्ति आर्जन गर्ने ध्येयमा छ ।

गाउँ–गाउँबाट कार्यकतालाई काठमाडौं ल्याएर दुवै पक्ष आफू बलियो भएको देखाउने प्रयासमा छन् । शीर्ष नेताहरूले नै एक–अर्कालाई संगीन आरोप लगाउँदा दुवै समूहका कार्यकता मुठभेडको स्थितिमा पुगेका छन् भने समाज पनि विस्तारै ध्रुवीकरणको शिकार बन्दैछ ।

शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्रकारहरू माझ प्रधानमन्त्री केपी शर्मा ओलीले गृहयुद्ध चाहेको हो ? भनि प्रश्न गर्दा दिउँसो भएको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने धम्की दिनुभयो ।

प्रतिनिधि सभाको हठात विघटनपछि त्यसको प्रतिकारमा दाहाल–नेपाल समूह बिहीबार नेपाल बन्द ग¥यो । त्यसको प्रतिरोधस्वरुप सत्ताको शक्ति देखाउन प्रधानमन्त्री ओली पनि सडकमै ओर्लिनुभयो । ओलीको उद्देश्य दाहाल–नेपालको शक्तिलाई कमजोर देखाउने हो ।

जनकपुरमा बिहिबारको प्रदर्शनमा देखिएको दमनले दुवै पक्षको आक्रामकतालाई पुष्टि गर्छ । यसले संविधान र लोकतन्त्रको क्षतविक्षत मात्र होइन समाज नै ध्रुवीकरणको बाटोमा अघि बढेको मानवअधिकारकर्मी कपिल श्रेष्ठ बताउनुहुन्छ ।

प्रधानमन्त्री ओलीको कदमले संविधानवादमा प्रश्न जन्माएको छ । उहाँले आफूलाई ‘राजनेता’ प्रमाणित गर्न नारायणहिटी अगाडिको सडक साहारा लिनुपरेको छ । राजनीतिक विश्लेषक मुमाराम खनाल सडकमा देखिएको भिडले कम्युनिजमको सिद्धान्तमा कलंक लगाउनु सिवाय अर्को उपलब्धि नहुने ठान्नुहुन्छ ।

विश्लेषक, वुद्धिजिवी र सर्वसाधारण जनतामा कतै देश मुठभेड र द्वन्द्वतर्फ त धकेलिने हैन भन्ने त्रास छ । सम्पूर्ण सुरक्षा संयन्त्रहरू बेलैमा सचेत नबने मुलुक गम्भीर दुर्घटनाको शिकार हुने नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातको भनाइ छ ।

संसद् विघटनविरुद्ध अहिले सबैजसो दल सडकमै छन् । आन्दोलनको राप र ताप बढ्दै जाँदा अहिले नेकपाको दुई समूहबीच मात्रै देखिएको तिक्तता भोलिका दिनमा अरुमा पनि नसर्ला भन्न सकिन्न ।

भिडियो हेर्नुहोस्