
नारायणी लामिछाने
काठमाडौं । वैदेशिक रोजगार विभागमा केही दिनअघि साउदी जान लागेका युवकबाट १ हजार रुपैयाँँ छुट नदिएको भन्दै उजुरी आयो । वैदेशिक रोजगारीमा जान लागेका एक युवकले ट्याक्सी भाडास्वरूप १ हजार छुट गरि दिन मेनपावरसँग माग गरेका थिए । तर, नदिएपछि ती युवकले विभागमा उजुरी गरे । मेनपावर सञ्चालकलाई विभागले नियन्त्रणमा लियो ।
शुक्रबार त्यस्तै घटना दोहोरियो । ग्रिनस्टार ओभरसिजले केही युवकबाट तोकिएको भन्दा बढी रकम माग्यो । कम्पनीले १ लाख २५ हजार मागेकोमा युवाहरू १ लाख १५ हजार बुझाउन तयार भए । मेनपावर तयार नहुँदा उनीहरूले विभाग गुहार्न पुगे ।
यस्तै, १२ माघमा विभागले काठमाडौं सिनामंगलस्थित कल्याण सेक्युरिटी सर्भिसले कतार प्रहरीमा पठाउन भन्दै अन्तर्वार्ता लिएको सूचना आएपछि विभागले त्यहाँ छापा मार्यो । अन्तर्वार्ता लिइरहेकै अवस्थामा त्यहाँका कर्मचारीलाई भेटियो । अवैध अन्तर्वार्ता लिनेहरूले लाखौं असुलेर भारतको बाटो हुँदै कतार पु¥याइरहेको भन्दै विभागले सञ्चालकमाथि कारबाहीको प्रक्रिया अघि बढायो ।
यी वैदेशिक रोजगार विभागमा उजुरी परेका ठगीका पछिल्ला केही नमूना हुन् । दैनिकजसो उजुरी बढ्न थालेपछि वैदेशिक रोजगार विभागले पनि अनुगमनलाई बढाएको छ । अनुगमनका क्रममा मेनपावर कम्पनीले अवैध अन्तर्वार्ता र बढी रकम असुल्ने गरेको भेटिएको विभागले जनाएको छ ।
विभागका अनुसार फ्रि–भिसा फ्रि–टिकटका नाममा अन्तर्वार्ता लिएर श्रमिकबाट लाखौं रकम असुल्ने गरेको पाइएको छ । पछिल्लो समय अवैध रूपमा मानिसबाट लाखौं रकम असुल्न गिरोह नै सक्रिय रहेको विभागका अनुगमन अधिकृत कुशल बरालले जानकारी दिनुभयो ।
यस्ता गिरोह सक्रिय हुँदा युवा–युवतीहरू लाखौं रकम तिरेर न्यून ज्यालामा वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । वर्षेनी बढ्दो बेरोजगारी र वैदेशिक रोजगारी व्यवस्थापन नहुँदा नेपाली श्रमिक ठगिने गरेको रोजगार विज्ञ पूर्णचन्द्र भट्टराई बताउनुहुन्छ ।
‘नेपालीहरू स्वेदशमा र विदेश दुवै ठाउँमा ठगिएका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसको समाधानका लागि देशभित्र अनुगमन र कारबाहीलाई बढाउनुपर्छ भने देश बाहिर कुटनीतिक गर्नुपर्छ ।’ बजारमा रोजगारीका लागि चाहिने दक्ष जनशक्ति उत्पादन नभएका कारण वैदेशिक रोजगारीमा मानिसको आकर्षण बढेको रोजगार विज्ञ भट्टराईको भनाइ छ ।
सरकारले विभिन्न देशसँग श्रम सम्झौता गरेर शून्य लागतमा कामदार लैजाने भने पनि रोजगारीमा जाने कामदार देशभित्रै र बाहिर ठगिने क्रम रोकिएको छैन । त्यसैले सरकारले कि आन्तरिक रोजगारी सिर्जना गर्नुपर्छ कि त वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्