१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा ६ हजार ९ सय लगाए कोरोनाविरुद्धको खोप


13
Shares

चितवन । चितवनमा पहिलो चरणमा ६ हजार ९ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले पहिलो चरणमा ९ दिनभित्र खोप लगाउने अवधि तोके पनि चितवनमा दुई दिन थप गरी शनिबार ११ औँ दिनमा समापन गरिएको हो ।

भरतपुर अस्पतालका निमित्त प्रमुख डाक्टर जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप अभियानको पहिलो चरण अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लगाएसँगै अन्त्य भएको हो । भरतपुर अस्पतालको खोप केन्द्रबाट मात्रै ३ हजार ७ सय २९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको अर्को खोप केन्द्र रत्ननगरको बकुलहर अस्पतालबाट ४ सय जनाले, वगौडा अस्पताल माडीबाट ८९ जना, नयाँ मेडिकल कलेजबाट १ हजार ४० जना, पुरानो मेडिकल कलेजबाट ८ सय ८ जना, वृद्धाश्रमबाट १ सय ८९ जना र भरतपुर कारागारबाट ६ सय ८३ जनाले खोप लगाएका हुन् ।

पहिलो दिन २ सय ७९ जनाले खोप लगाएका थिए । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव ५ प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभएको छ ।