
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताउनुभएको छ ।
मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग शनिबार काठमाडौंमा भएको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले दुवै उस्तै–उस्तै हुन भनिए न्याय नहुने बताउनुभयो । उहाँले अध्यादेश जारी गर्ने देखि लिएर संसद् विघटनसम्मका कदमलाई ओलीको जंगलीराजको सुरुवातको रूपमा टिप्पणी गर्नुभयो ।
अध्यक्ष दाहालले कांग्रेस, जसपा लगायतका दलहरूसँग संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको भन्दै फागुनको पहिलो साताभित्र निष्कर्षमा पुग्ने बताउनुभयो । उहाँले अहिलेको परिस्थिति आउनुमा आफूहरूको कमजोरीको आत्मसमीक्षा गर्दै श्वेतपत्र जारी गर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले जनयुद्धदेखि गणतन्त्रसम्म सञ्चारक्षेत्रको भूमिका उल्लेखनिय रहेको बताउनुभयो । भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरू नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने टिप्पणी गनुभयो । ओलीका प्रशंसा मात्र सुन्ने बानी रहेको उहाँको आरोप थियो ।
प्रधानमन्त्रीसँग प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गर्दै प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्