१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुख्यमन्त्री पौडेलद्वारा माझी बस्ती हस्तान्तरण, हरेक घरमा दुई कोठा र शौचालय


0
Shares

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीको साँचो खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाडलाई हस्तान्तरण गर्नुभएको हो ।

बागमती प्रदेश सरकार र गाउँपालिकको संयुक्त लगानीमा निर्माण गरिएको एकीकृत बस्तीको साँचो हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले नमूना बस्तीले विपन्न र पिछडिएका माझी समुदायलाई राहत पुगेको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशभर यस्ता जनप्रिय कामहरू गरेको दाबी गर्नुभयो ।

निर्माणाधिन मध्यपहाडी राजमार्ग सँगै जोडिएको डफकाको माझी बस्तीमा २०७२ को भूकम्पले क्षति पुगेपछि स्थानीय टहरोमा बस्दै आएका थिए । स्थानीय सरकारको समन्वयमा प्रदेश सरकारले माझी बस्तीको निर्माण थालेकोह हो । बस्ती निर्माणका लागि प्रदेश सरकारले १ करोड ५० लाख र खाँडादेवी गाउँपालिकाको ७५ लाख रुपैयाँ गरी २ करोड २५ लाख खर्च भएको छ ।

२६ रोपनी जमिनमा निर्माण भएको बस्तीमा ४२ वटा घर छन् । हरेक घरमा दुई कोठा र शौचालय छ । बस्तीलाई नमूना बनाउन सामुदायिक भवन, खेल मैदान लगायतका संरचनाहरू पनि निर्माण गरिएको छ ।