
काठमाडौं । सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । आजको बैठकमा सरकारका तर्फबाट केही विधेयक टेबुल गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको छैटौँ अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते अन्त्य भएको थियो । पछिल्लो अधिवेशन अन्त्य भएको ६ महिना भित्रै अर्को अधिवेशन आवश्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
छैटौं अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भइसकेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित अवस्थामा छ ।
नेकपा समूहमा विभाजन भएपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ । नेकपा विभाजनको असर प्रदेशमा पनि देखिएको छ ।
प्रदेशमा दाहाल नेपाल समूहका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ । ओली समुहका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको बर्खास्तगी परेका छन् भने आर्थिक मामिलामन्त्री झपडबहादुर बोहराले राजीनामा दिएका छन् ।
प्रदेशका ५३ सांसदमध्ये नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना छन् । नेकपाका ३९ सांसदमध्ये ओली समुहका ७ जना मात्र छन् ।
ओली समुहले प्रतिपक्षसँग मिलेर मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्