
मिरा बस्नेत
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा बहस भइरहेको छ ।
रिट निवेदकका तर्फबाट बहस सकिएपछि सरकारी पक्षबाट बहस भइरहेको छ । आइतबार बाट इजालसले बहसकर्ताहरूलाई १० मिनेटमा बहस सक्न समय तोकेको छ । समय तोकिए पनि बहसकर्ताहरूले बहसलाई केही लम्ब्यारहेका छन् ।
सोमबार बहसका क्रममा इजलासमा केही ठट्टा पनि भएको छ । अधिवक्ता सीपी रेग्मीले बहस गरिरहेको समयम इजलासबाट आएको प्रश्न गर्ने क्रममा अधिवक्ताले उत्तर दिन धेरै समय लगाएपछि ठट्टा भएको हो ।
न्यायाधीश तेजबहादुर केसीले अधिवक्ता रेग्मीलाई प्रश्न गर्नुभयो, ‘संविधानको व्याख्या गर्दा, सविधान निर्माताको मनसाय पो हेर्ने हो, होइन र ?’ जवाफमा अधिवक्ता रेग्मीले प्रधानमन्त्रीले जसरी पनि संसद् विघटन गर्न पाउने जिकिर गदै आफू उक्त प्रश्नको जवाफमा आउने भन्नुभएको थियो ।
त्यसपछि न्यायाधीश केसीले ‘समय छैन अगाडि बढ्नुहोस्’ भन्नुभयो । न्यायाधीसले त्यसो भनेपछि अधिवक्ता रेग्मीले तीन मिनेट समय त्यसै बिताउनुभयो । बहस नोट निकाल्दै र किताब टेबलमा राख्दै समय घर्काएपछि बेञ्चबाट ठट्टा गर्दै भनियो, ‘समय झोला खोज्दै सकिनेभयो ।’
प्रतिक्रिया दिनुहोस्