१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलपोखरी विश्वरूप भगवती गुथिको रहेको प्रमाण, मानन्धर समुदायको रोहवरमा कमल चढाउनुपर्ने (भिडियो)


221
Shares

नरेन्द्र मानन्धर ।
काठमाडौं । ऐतिहासिक महत्वको सिमसार कमलपोखरीमा फुलेको सेतो कमलको फूल इन्द्र जात्रामा नारायणसहितको विश्वरूप भगवती, त्रिशक्ति विश्वरूप, इन्द्र, कुमारी, गणेश र भैरवलाई चढाउनुपर्ने परम्परा रहेको छ । तर थुप्रै पक्षको विरोध हुँदाहुँदै पनि काठमाडौं महानगरपालिकाले ऐतिहासिक होइन भन्दै पोखरीको प्राकृतिकस्वरूप नै बिगारेर धमाधम कंक्रिटको संरचना बनाइरहेको छ ।

ऐतिहासिक महत्वको सिमसार कमलपोखरीमा फुलेको सेतो कमल प्रत्येक वर्ष मनाइने इन्द्रजात्रा पूजाका लागि चाहिन्छ । इन्द्रजात्रामा हनुमानढोकामा रहेको मल्लकालीन नारायणसहितको तान्त्रिक विश्वरूप भगवती र त्रिशक्ति विश्वरूपमा सेतो कमलको फूल चढाइने परम्परा रहेको थियो ।\

विश्वरूप भगवती नारायणको नाभीबाट निस्किएको कमलको फूलमा पात्रसहित माछालाई कुल्चिएर उभिएको अवस्थामा छ । त्यसैले विशेष रूपमा सेतो कमलको फूल भगवतीलाई चढाउनु पर्ने भएकाले अहिलेको कमलपोखरीबाट कमल ल्याउन गुथि समेत स्थापना गरिएको थियो ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकमा विजय गरेपछि नुवाकोटको भगवती सोही स्थानमा स्थापना गरिएको र त्यसपछि कडेल चोक भगवतीको नामले चिनिएको हो । गुथि संस्थानका अनुसार अहिले पनि कमलपोखरी कडेल चोक भगवतीको नाममा ४८ रोपनी जग्गा निस्सा देखिन्छ ।

भगवती मन्दिरका मूल पुजारी बैकुण्ठ राजलवटले इन्द्रजात्रामा शुरु र अन्तिम दिनका लागि १४ वटा सेतो कमलको फूल चढाउने परम्परा रहेको बताउनुभयो । सो जात्रामा इन्द्र, जीवित देवी कुमारी, गणेश र भैरवलाई चढाउनु पर्ने परम्परा छ । तर, कमलपोखरीमा कमल नै नफूले पछि गुथि संस्थानले ठेकेदारमार्फत फूल दिने गरे पनि वर्षौदेखि त्यो परम्परा पनि तोडिएको छ ।

भगवतीको गुथि अन्तर्गत कमल पोखरीसहित ३ सय ७२ रोपनी जग्गा रहेकामा त्यो पनि गुथि संस्थानले नै बेचेर खाएको पुजारी राजलवटको आरोप छ । संस्थानमा यस सम्बन्धमा बुझन खोज्दा कर्मचारीहरूले तपाईंहरूलाई के को चासो ? हामीले तपाईंहरूलाई पूजाको लागि सामग्री दिएकै छौं किन खोजिनीति गर्छौं भनेर हकार्ने गरेको गुनासो उहाँको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष मंगलकृष्ण मानन्धर इन्द्रजात्रामा मानन्धर समुदायबाट चुनिएको व्यक्ति ‘न्हय्स नायः’ को रोहवरमा सेतो कमलको फूल विभिन्न देवदेवीलाई चढाउनुपर्ने परम्परा रहेको र यो लिखित रूपमा नै रहेको बताउनुहुन्छ ।

कमलपोखरीमा कमल नफुलेपछि १० वर्षअघि इन्द्र जात्रामा पोखराको बेगनास तालबाट सात वटा सेतो कमलको फूल ल्याएर पूजा गरेको उहाँले बताउनुभयो । त्यसकारण पनि विश्वरूप भगवतीलगायतका देवदेवीलाई चढाउन कमल पोखरीलाई गुथि नै बनाएर चलाइएको र त्यसको प्रमाण संस्थानमा सुरक्षित रहेको उहाँको दावी छ ।

कमलपोखरी र भगवतीबीच ऐतिहासिक सम्बन्ध रहेको संवत् १९५१ सालको तोक सदर, १९६१ सालको दशवीर पोडेको विन्तिपत्रलेसमेत पोखरी कडेल चोक भगवती गुथिको नाममा रहेको रहेको प्रमाण गुथि संस्थानमा छ ।

तसर्थ देशको धार्मिक र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने हो भने कमलपोखरी मात्र होइन, हराइरहेको ३ सय ७२ रोपनी भगवती गुथिको जग्गा फिर्ता गर्न सो गुथिको सदस्य, सरोकारवाला सबै क्रियाशिल भएर लाग्नु आवश्यक देखिन्छ । अन्यथा, जीवन्त परम्परा कथामा मात्र सीमित हुने पक्का छ ।