
काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य झाँक्रीले सन्की प्रधानमन्त्रीको प्याधाको बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउनुभयो । उहाँले सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र उ सार्वजनिक पदधारी हुने जिकिर गर्दै महिला खलपात्रको विषयमा कुरा उठाउँदा कसरी महिलाप्रति अपमान भयो भन्दै प्रश्न गर्नुभयो ।

केन्द्रीय सदस्य झाँक्रीले संविधानको चिरहरण गर्नेविरुद्ध, सेटिङ र अध्यारा कोठामा भएका अवैधानिक सम्झौताविरुद्ध बोल्न पाइने तर्क गर्दै नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने जिकिर गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ संकेत गर्दै उहाँले निरङ्कुसताको साक्षी बस्ने पात्रको विरुद्ध बोल्न पाइने उल्लेख गर्नुभयो । साथै उहाँले आफू कुनै संस्थाको विरोधमा नभइ व्यक्ति र प्रवृत्तिकाविरुद्ध बोलेको प्रस्ट पार्नुभयो ।
उहाँ कार्यक्रमको सुरुमै मुखमा टेप लगाएर आउनुभएको थियो । कालो टेप खोलेर फाल्दै उहाँले आफ्ना भनाइ सुरु गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्