४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाले लगायो प्रतिबन्ध


0
Shares

काठमाडौं । अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यकारी आदेश अनुसार सैन्य नेतृत्व, उनीहरुका परिवारका सदस्य र उनीहरुसँग जोडिएका व्यवसायलाई निशाना बनाइएको छ । यसैगरी अमेरिकामा रहेका एक अर्ब अमेरिकी डलर बराबरको सरकारी कोषमा म्यानमार सेनाको पहुँचमा पनि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

प्रजातन्त्रवादी नेतृ आङसाङ सुची लगाएतका नेताहरुको रिहाई र प्रजातन्त्र पुनर्वहालीको माग राख्दै म्यानमारमा लगातार प्रदर्शन भईरहेको समयमा अमेरिकाले सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण हुनु पर्ने र नेतृ सूचीसहित गिरफ्तार सबै नेताहरु रिहा गरिनु पर्ने बताउँदै आउनुभएको छ ।

आवश्यक परेमा थप कदम पनि चाल्ने बताउँदै बाइडेनले प्रजातन्त्रका लागि प्रदर्शनमा सहभागिहरुमाथि हुने कुनै पनि प्रकारको हिंसा वा ज्यादती स्वीकार्य नरहेको चेतावनी दिनुभएको छ ।

म्यानमारमा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको विश्वव्यापी रुपमा विरोध भइरहेको छ ।
एजेन्सी