१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाइयो, निवासबाहिर समर्थकको नाराबाजी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै प्रहरीले नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि बोलाएको छ ।

महानगरीय अपराध महाशाखाकाअनुसार राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध अनर्गल प्रचार गरेकाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको हो । यसअघि झाँक्रीले गोरखामा भएको एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गर्नुभएको थियो । उनले मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा भण्डारीलाई चुनाव लडाउनु भुल भएको बताउनुभएको थियो ।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो । ओली समूहको महिला संगठनले झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो । झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन् ।

अहिले उनको निवासबाहिर प्रहरी परिचालन गरिएको छ भने उनका समर्थकहरूले पनि नाराबाजी गरिरहेका छन् । उनीहरू राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।