१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोप किन्न विश्व बैकले नेपाललाई पौने ९ अर्ब ऋण दिने


0
Shares

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि विश्व बैकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ ।

विश्व बैकका नेपाल निर्देशक फारिस हदाद जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण सहायताको प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । ‘विश्व बैकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिदका लागि प्रयोग गर्न सक्नेछ’, उनले भने ।

नेपालले अन्तराष्ट्रिय मापदण्डअनुसार विश्व बैकले मान्यता दिएको कुनै पनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्याक्सबाट प्राप्त हुने खोप खरिदमा उक्त रकम प्रयोग गर्न सक्ने उनले स्पष्ट पारे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डा. रोशन पोखरेलका अनुसार नोपलले भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) सँग २० लाख डोज खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ ।

विश्व बैंकले दिने भनेको ७५ मिलियन डलरमध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्न र बाँकी रकम खोपको व्यवस्थापनमा प्रयोग हुनेछ । मन्त्रालयले सिरमसँग प्रतिडोज खोप ५ अमेरिकी डलरभन्दा कम रकममै खरिद गर्ने जनाएको छ । कान्तिपुर