
काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौ शहीदको बलिदान पछि बनेको संविधान नै धरापमा पर्ने संशय पैदा भएको बताउनु भएको छ ।
जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियासंगै सेना समायोजन,संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गर्नुभयो । युद्धकालिन समयमा भएको बलिदानी संगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनका साथै शान्ति सम्झौतालाई सफल पार्न आफुहरुले खेलेको भुमिका युगान्तकारी भएको उहांको टिप्पणी थियो ।
अध्यक्ष प्रचण्डले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफुले उत्पीडित समुदायहरुको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालिन विद्रोह उत्पीडीत समुदायको विद्रोह नै भएको जिकिर गर्नुभयो ।
विमोचन गरिएको “जीवनगाथा” पुस्तकमा तत्कालीन माओवादीले जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ । नेकपाको दाहाल–नेपाल समुहले आज तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै जनयुद्ध दिवस मनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्