
काठमाडौं । गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा निकै रोमान्चक बनेको फाइनलमा पहिलो सेट गण्डकीले २५–२२ ले जितेको थियो । दोस्रो सेट २५–२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकाल्दै २–१ को अग्रता बनायो । तर, चौंथो सेट आर्मीले २५–२३ ले जितेपछि खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि हात पा¥यो ।
उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।
यसअघि आजै भएको महिलातर्फको फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको थियो । उपाधि जित्ने क्रममा पुलिसले एपीएफमाथि २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्यो । उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस्