
नारायणी लामिछाने
काठमाडौं । काठमाडौंका अधिकांश सडकहरूमा न सडक बत्तीको उचित प्रबन्ध छ, न त भएका बत्तीहरू नै बल्छन् । जडान गरेपछिको केही महिना बले पनि पछि सोलार बत्तीहरूले काम गर्दैनन् । मुख्य सडकमा जडान गरिएका, महानगरको आफ्नै खर्चमा र निजी क्षेत्रको लगानीमा जोडिएका सडक बत्तीको मर्मतमा कसैले चासो दिएको देखिँदैन ।
राष्ट्रपति कार्यालय शीतलविनास, बालुवाटारस्थित प्रधानमन्त्री निवास क्षेत्रमा सडकहरूमा पनि सडक बत्ती छैनन् वा जडान गरिएका बत्ती पनि बल्दैनन् । सवारी साधनको उज्यालो कै सहारामा राति पैदल यात्रु हिड्न बाध्य छन् । सोलार बत्तीहरू पनि रात छिप्पिँदै जाँदा मधुरो बन्दै जान्छन् र निभ्छन् ।
२०७२/७३ मा सार्क सम्मेलनको तयारी स्वरुप काठमाडौं महानगरले बी के ट्रेडर्ससँग मिलेर ४० करोडको लगानीमा उपत्यकाका ८ सय बढी पोलहरूमा सोलार बत्ती जडान गरेको थियो । केही स्थानमा भने विद्युत प्राधिकरण र एसियाली विकास बैंकको लगानीमा सोलार बत्ती राखिएको थियो ।
तर, अहिले ती बत्तीको मर्मत र व्यवस्थापनमा कसैले ध्यान नदिएपछि कति बत्ती बल्नै छाडे भने कतिका ब्याट्रीमा समस्या देखिएका छन् । जडान गरिएका बत्तीको नियमित मर्मत गर्नुको सट्टा महानगरपालिका भने प्राधिकरणसँगको समन्वयमा सिटी लाइन अर्थात पोलकै बत्ती जडान गर्नतर्फ लागेको छ ।
विद्युत्को खपत बढाउनुपर्ने अहिलेको अवस्थामा महानगरपालिकाले सोलार बत्तीको सट्टामा सिटी लाइन नै जडान गर्न लागेको महानगरका शहरी योजना तथा पुर्वाधार विकास विभाग प्रमुख राम थापा बताउनुहुन्छ । ‘हरेक ४–५ वर्षमा ब्याट्री फेर्दा रकम बाहिर जाने अवस्था सिर्जना भयो,’ उहाँ भन्नुहुन्छ, ‘अर्कोतर्फ विद्युत् खपत बढाउनेपर्ने अहिलेको अवस्थााम अब हामी सडकमा पनि सिटी लाइन नै जोड्दैछौं ।’
महानगरपालिकाले चालु आर्थिक वर्षमा मेयर उज्यालो कार्यक्रम अन्तर्गत १३ करोड र काठमाडौंका ८० वटा चोकमा ठूला बत्ती जडान गर्नका लागि १० करोड गरी २३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसबाट काठमाडौंका मुख्य सडकमा बत्ती बल्नेछन् भने साना सडकको अवस्था अझै पनि उस्तै रहने देखिएको छ ।
महानगरले रणतीतिक महत्वका सडकलाई मुख्य सडकको रुपमा विभाजन गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरु बस्ने स्थान वरपर र विदेशी पाहुनाहरु हिड्ने सडकलाई पनि मुख्य सडकका रुपमा लिइने प्रमुख थापाले बताउनुभयो । ६० किलोमिटर सडकलाई कभर गर्ने गरी मुख्य सडकमा मात्रै १७ सय थान बत्ती जडान गरिएको उहाँको भनाइ छ ।
उता कलंकी कोटेश्वर सडक खण्डमा बनेको एक वर्षभन्दा बढी समय भइसक्दा पनि बत्ती जडान कार्य भएको छैन । चक्रपथका अधिकांश ठाउँमा बत्तीको व्यवस्था नहुँदा सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै देखिन्छ ।
सडक बत्ती सडकको गहना हो । राति पनि सर्वसाधारणको आवतजावत सहज र सुरक्षित बनाउन, यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालाई चुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न सडक बत्ती आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्