
चितवन । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सभामा उपस्थित मानिसहरु उनको समर्थनमा नभएको टिप्पणी गर्नुभएको छ ।
चिवतनमा सोमबार आयोजिक विरोध सभामा बोल्दै पूर्वमन्त्री थापाले ओलीको सभामा आएका मानिसहरू हास्य अभिव्यक्ति सुन्नमात्र गएको बताउनुभयो । ‘प्रधानमन्त्री ओलीलाई सभामा उपस्थित मानिसहरू आफ्नो समर्थनमा आएको जस्तो लाग्छ होला, तर होइन,’ उहाँले भन्नुभयो, ‘ती मानिसहरू ओलीको हास्य अभिव्यक्ति सुन्न आएका हुन् ।’
ओलीले देशभरी गरिरहेको सभा महाराजाको सभाजस्तो भएको आरोप लगाउँदै पूर्वमन्त्री थापाले असंवैधानिक कदम चाल्ने व्यक्ति कस्तो रहेछ भनेर हेर्न मात्रै ओलीको सभामा जनता उपस्थित भएको टिप्पणी गर्नुभयो । उहाँले ओलीले विभिन्न सभामा बोलेका कुराहरूलाई टिकटक लगायतका सामाजिक सञ्जालमा मजाक बनाइएको उल्लेख गर्दै जनताले उनलाई नरुचाएको बताउनुभयो ।
पूर्वमन्त्री थापाले तरवार र दरवारसँग लडेको कांग्रेसले ओलीको असंवैधानिक कदम सच्चाएर छाड्ने दावी गर्नुभयो । राम्रो काममा कांग्रेसले कुनै पनि ठाउँमा विरोध नगरेको स्मरण गर्दै उहाँले संविधान र लोकतन्त्र विरोधीहरूलाई कांग्रेसले कहिल्यै पनि साथ नदिने बताउनुभयो ।
पूर्वमन्त्री थापाले अहिलेको कदम आउनुमा ओलीमात्र नभएर पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि उत्तिकै जिम्मेवार रहेको आरोप लगाउनुभयो । सुशील कोइराला नेतृत्वले बनाएको संविधान कुनै पनि हालतमा तलमाथि हुन नदिने उहाँको प्रतिबद्धता थियो ।
प्रतिक्रिया दिनुहोस्