
संजिव कार्की
प्रधानमन्त्री उल्कै फुइँफाइँ गर्नुहुन्छ र भन्नुहुन्छ तीन वर्षमा जति काम भयो त्यति आजसम्म कसैले गर्न सकेको थिएन । उहाँका अनुयायी यही भनाई ठ्याक्कै साभार गर्छन र आ आफ्नो माध्यमबाट प्रचार गर्छन । आज सम्मको इतिहासमा सबै भन्दा धेरै काम छोटो समयमा गर्ने प्रधानमन्त्री ओली मात्रै हुन् ।
प्रधानमन्त्री फेरि अर्को ठाउँमा भाषण गर्नु हुन्छ मलाई काम गर्न दिएनन्, मेरो हात खुट्टा बाँध्ने काम भयो । प्रधानमन्त्री नियुक्त हुँदाको दिनदेखि साथीहरु प्रचण्ड, माधव र झलनाथले किचकिच गरेर बार्गेनिङ र ब्ल्याक मेलिंग गरेर भाग खोजेर काम गर्न असहजता सिर्जना गरे । जतासुकै भाग खोजे । काम गरौ भन्यो खुट्टा तान्ने र भाग खोज्ने गर्न थाले मैले काम गर्न सकिन । यी दुई भनाइ बिचको तादम्यता कस्तो छ ।
एकातिर उल्कै काम गरेको रेकर्ड नै ब्रेक गरेको फुइ र अहंकार दम्भ छ भने अर्को तिर काम गर्न नसकेको निरीहता र विवशता छ । प्रधानमन्त्री धेरै बोल्नुहुन्छ, जथाभावी बोल्नु हुन्छ । आफूले नजानेको र आफूलाई ज्ञान नभएको कुनै विषय छैन झैँ प्रस्तुत हुनुहुन्छ तसर्थ चिप्लिरहनु हुन्छ । एकातिरको भाषण सुन्दै गर्दा अर्को तिरको भाषणले आफ्नो कुरा काटिरहेको हुन्छ । त्यसैले प्रधानमन्त्री फुइ लाउदा लाउदै हास्यको पात्र बनिरहनु भएको कुरामा हेक्का राख्नु हुन्न या मैले जे बोले नि भै हाल्छ, मान्छे हाँसी हाल्छन मान्छे हसाउनु ठूलो कला र गुण हो भन्ने चिन्तनलाई ठिक ठान्नु हुन्छ ?
म मान्छे रुवाउने होइन हँसाउने गर्छु मान्छे मार्दिन, काटदिन भनेर प्रधानमन्त्री भन्दै गर्दा गरिबी र भोक सहन नसकेर आफ्ना लाला बाला सहित आत्महत्या गरेको समाचार बाहिरिन्छ । अस्पतालले उपचार खर्च देखाउदा आत्महत्या गर्ने र मृगौला मुटु फोक्सो नशा लगायत अन्य रोगको कारण उपचार गर्दा तिर्नु पर्ने रकमले घर खेत बेच्दा पनि नपुग्ने र छोराछोरी परिवारको सडकमा बास हुन्छ भन्ने भयले आत्महत्या रुपी मृत्यु रोज्नेको जिम्मा प्रधानमन्त्रीको हो कि होइन ? मान्छे मार्न हतियार नै प्रयोग गर्नु पर्दैन । राज्यसत्ता चलाउनेको गलत नीति र नियतको कारण उपचार नपाएर मर्ने हजारौको हत्यारा राज्य हो ।
राज्यकोषबाट आफू जति पनि उपचार गर्ने तर गरिबको लागी एउटा अस्पताल बनाउन नसक्नेले भ्यु टावर बनाएको भन्नू कति सुहाउने कुरा हो ? हतियारले रेटेर नमार्नु मात्रै मान्छे नमार्नु होइन । शासन सत्ताको डाडुपन्यु हातमा लिएर बसको मान्छेको राजमा भोक अनि रोग खान नपाएर,अस्पताल जान नपाएर मान्छेको अकालमा मृत्यु हुन्छ भने त्यो दोषको भागीदार को हो ? त्यतातिर पनि प्रधानमन्त्री सोचमग्न हुनु जरुरि छ । आफ्नो अनुकुलामा लेखिएका बिश्लेसण र समाचार सत्य हुने तर आफू प्रतिकुल हुने बित्तिकै असत्य ठान्ने विदेशी संचार माध्यमको प्रचारप्रसारलाई एकपक्षीय आँखाले हेर्ने दृष्टिदोष बाट सबै पक्ष मुक्त हुनुपर्ने आजको टड्कारो खाँचो हो ।
एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदन झुठ भनिरहदा प्रधानमन्त्रीको पक्षमा लेखिएको कुनै समाचार सतप्रतिशत सत्य मानेर रिफरेन्स दिनु कति जायज र नैतिक हो ? प्रधानमन्त्री हसाउन माहिर हुनुहुन्छ मज्जाले मासलाई मनोरंजन दिनुहुन्छ यसर्थ लाफिंग थेरापीको नेपाल प्रबर्तक उहाँलाई भन्दा अनुचित हुन्न ? पिडामा परेको बेला हाँसोको थेरापी लिएर पिडा भुल्ने जसको लागि नेपालका हाँस्य कलाकारहरु हरिबंश, मदनकृष्ण, मनोज गजुरेल जितु नेपाल सिताराम,कुन्जना, माग्ने बुढा, काउली बुढी,सन्दीप क्षेत्री लगायतको कार्यक्रम नहेरेर प्रधानमन्त्रीको हसाउने भाषण सुन्नुपर्ने हुन्छ ।
राजनीतिमा खासै चासो र दिलचस्पी नराख्ने सहरी युवा पनि प्रधानमन्त्रीलाई केवल हँसाउने बुढा अर्थात जोकर प्रधानमन्त्रीको रुपमा चित्रित गर्छन । यी भविष्यका कर्णधारले चिन्नुपर्ने त हाम्रा लागि काम गर्ने प्रधानमन्त्री भनेर आदरपूर्वक नाम लिनुपर्ने थियो । प्रधानमन्त्रीको ओलीको पहिलो कार्यकाल भारतीय नाकाबन्दीले आक्रान्त थियो । पैसा हुनेलाई ग्यास मट्टीतेल सहज थियो कालो बजारी चरम रुपमा फस्टाएको थियो । गरिबको चुलो निभेको थियो । त्यतिबेला पनि ओलीले गज्जबले हसाउनु भएको थियो चुला चुलालामा ग्यासको पाइप पुर्याई दिन्छु । सिलिन्डरको फेज समाप्त गरिदिन्छु । पिटिक्क चुलो बालेपछि ग्यास बल्छ । तर त्यतिबेला सरकारले गर्नुपर्ने काम कालो बजारी रोक्नु र जनतालाई सहज रुपमा ग्यास,तेल, डिजेल पेट्रोल र खाद्यान्नको जोहो गरिदिनु पर्ने थियो तर हसाउनु भयो ।
प्रचारमुखी प्रधानमन्त्री प्रचारप्रसार सामान्य कामको पनि खुब गर्नु हुन्छ र आफूलाई त्यसको केन्द्रमा राख्नु हुन्छ । नयाँ यूगको शुरुवात भनेर सहरका पोल पोलमा पोस्टर ब्यानर टाँग्न लगाउनु भयो तर आफूले घोषणा गरेको कार्यक्रमको प्रगति के भयो कसो हुदैछ फलोअप गर्नु भएन । कुनै पनि कामको जस पार्टीको लागि दिन चाहनु भएन आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्नु भयो शायद पार्टी भित्रको असहमतिको पक्ष यो पनि एक हुनसक्छ । विकासले फड्को मारेको गफ जति दिए पनि समग्र विकास सुचाकं रानी पोखरीको पुनर्निर्माण र भूकम्प पश्चात बनेका घरहरु होइनन । धरहराको २० औ तला थपिनु र पहाडको शिखर तिर भ्यु टावर बन्नु बिकासको मानक होइन तर प्रधानमन्त्री सरकारको स्वाभाविक काम र विकास निर्माणको सामान्य प्रक्रिया नै आफ्नो उपलब्धि भनेर प्रोग्रेस रिपोर्ट बनाउनु हुन्छ । सामान्य प्रशाससनिक काम त जोसुकै प्रधानमन्त्री भए पनि कर्मचारीतन्त्रको प्रणालीले चल्छ तर यही स्वाभाविक गतिलाई पनि सुशासनको नमुना देख्नु चै सुशासनको परिभाषा र मर्म बुझ्न नसक्नुको कारण हो ।
फुइबाज प्रधानमन्त्री किन पनि हो भने उहाँले जस्तो घोषणा गर्नु भयो र घोषणापत्रमा जे लेखियो त्यो कति प्रतिशत पुरा भयो त ? त्यसको बारेमा कुनै समिक्षा भएको छैन । लक्ष्य बिमुख कागजमा सिमित कार्यक्रम र नतिजा प्राप्त नहुने भाषण मात्रै प्रधानमन्त्रीले सुनाउनु भयो तसर्थ प्रधानमन्त्री फोस्रो धाक र धम्कि दिने फुइबाज हो । नेकपाले त्यतिबेला संयुक्त घोषणापत्र बनाएर मत माग्दा पहिलो वर्ष, दोश्रो वर्ष, हुँदै क्रमश पाँचौ वर्ष सम्म गर्ने काम र प्राथमिकता तोकेको थियो त्यति मात्र होइन दीर्घकालीन योजना र नीति प्रस्तुत गरेर अरु थुप्रै वर्ष आफ्नो नेतृत्वमा सरकार बनाउने संकल्प र विश्वाश लिएको थियो तर पाँच वर्षे जनताको अनुमोदन थेग्न सकेन । परिणाम पार्टी मात्रै फुटेन तीन बर्षमा नै संसद्को आयु सिध्याउन संसद विघठन गर्यो ।
काम एकातिर र कुरो अर्को तिर गर्ने प्रधानमन्त्रीले जे गर्नुपर्थ्यो त्यो गर्न सकेनन जे नगर्नुपर्थ्यो त्यो चै धेरै गरे । दूरगामी प्रभाव पर्ने रास्ट्रिय गौरवका आयोजनाको निर्माण गति र कतिपय त बेबारिसे समेत बन्दै गएको कारण पनि सरकारको संवेदनशीलता कति छ बुझ्न सकिन्छ । मार्क्सवादको बर्को ओढेर रामनामी गर्ने प्रधानमन्त्री केवल चर्को गफ र निन्दा गर्न गालीगलौज गर्न खप्पिस छन् तर अभिभावकीय दायित्व बोध गरेर भद्र बन्ने सहनशील बन्ने अरुको कुरा सुन्ने काम हत्तपत्त गर्दैंनन । देश रुपी घरको मूल मान्छे नै यति अराजक अभद्र गालीगलौज र सत्तो सरापमा उत्रेपछि आम नागरिक,उनकै पार्टीका नेताकार्यकर्ताको मनोदशा र प्रवृति कस्तो होला ? पक्कै अभिभावक अभद्र र अराजक भएको घरका केटाकेटी जस्ता हुन्छन त्यस्तै छ देशको समग्र स्थिति ।
आम मान्छेको मनस्थिति । प्रधानमन्त्री त यस्तो बोल्छन भने हामी सामान्य मान्छेले बोल्न किन नहुने जस्तो मनोविज्ञान समाजमा छ तसर्थ प्रधानमन्त्रीले आफ्नो औकात चिन्न सकेनन शासकीय भूमिकामा जम्न सकेनन् । फुइ गरे हाँसे, हँसाए तर देशको मुहार फेर्ने सामाजिक, संस्कृतिक, आर्थिक, राजनीतिक लगायत यावत कुरामा ट्रेन निर्माण गर्न असफल रहे । गलत नजिर बसाल्न संविधानको मर्म कुल्चन पुगे । सत्ताको भोग र अहँले घातक निर्णय गर्न र पार्टी फुटाउने सम्मको हर्कत गर्न पुगे तसर्थ ओली फुइबाज र लाफिंग थेरापिस्ट मात्रै बने । जनताले दिएको औकातको प्रधानमन्त्री बन्न सकेनन् । निर्मला पन्त देखि भागरथी भट्ट सम्मका बलात्कारी र हत्यारा खोज्न सक्नु भएन ती सामान्य नागरिकका छोरीहरु थिए तर आफ्नो पार्टीका नेता जनताले पत्याएका जननेता मदन भण्डारी, रास्ट्रपतिका पतिको हत्यारा र पत्ता लगाउने कुनै प्रयत्न गर्नु भएन त्यसैले तपाइलाई गफाडी ओलीबा भन्दा अतिशयोक्ति हुने छैन ।
प्रतिक्रिया दिनुहोस्