
प्रज्ञा तिमल्सिना
काठमाडौं । आज श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ । वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान र विद्या बढ्ने विश्वास छ ।
सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई यहि दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यसदिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
गुरुकुल शिक्षाबाट सुरु भएको सिकाइ प्रणाली अहिले औपचारिक शिक्षामा परिणत भएको छ । तर, पछिल्लो समय शिक्षा क्षेत्र एकदमै महंगो हुँदै गएको छ । अभिभावकको ठूलो रकम छोराछोरी पढाउन खर्च हुँदै आएको छ । अभिभावकहरू शिक्षा क्षेत्रलाई सस्तो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । माघ र फागुन महिना शिशिर ऋतुमा मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।
प्रतिक्रिया दिनुहोस्