२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुधबार बस्ने बैठकका लागि कांग्रेसका दुई समूहको बेग्ला बेग्लै रणनीति


0
Shares

रोमन आचार्य
काठमाडौं । विधान कार्यान्वयन गर्न असक्षम कांग्रेस केन्द्रीय कार्यसमितिको रणनीतिक बैठक बुधबार बस्दैछ । पार्टीको १४औं महाधिवेशन कार्यतालिका संसोधन गर्नु बैठकको मुख्य एजेण्डा हो । किनभने वर्तमान केन्द्रीय समितिको अस्तित्व दुई दिनपछि समाप्त हुँदैछ । पार्टी समायोजनको उल्झनमा फसेको कांग्रेसले फागुन ७ को मितिलाई पछ्याउन सकेन ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनलाई सुनिश्चित गर्ने र संविधानलाई सुरक्षित गर्ने एजेण्डामा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ । त्यसअघि छलफलमा उठाउने एजेण्डा तय गर्न पौडले समूहको बैठक बस्नेछ ।

निर्धारित कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्नुको कारण संस्थापन पक्षसँग खोज्ने पौडेल समूहको तयारी रहेको बुझिन्छ । यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनको माहोल बनाउने तयारीमा पौडेल समूह लागेको छ । संस्थापन पक्ष पनि पार्टीभित्र बारम्बार भइरहेको असहयोगको लेखाजोखा गर्ने मनस्थितिमा छ ।

देउवापक्षीय नेता अर्जुनप्रसाद जोशीले चुनाव र प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा थप व्याख्या गरिरहनु नपर्ने बताउनुुहुन्छ । ‘पार्टीको अधिवेशनकै विषय मुख्य रुपमा उठाउने हो,’ बुधबारको छलफलमा उठान हुने विषयको जानकारी दिँदै जोशी भन्नुहुन्छ, ‘त्यसबाहेक प्रतिनिधिसभा विघटनविरुद्ध गरेका विरोध प्रदर्शनहरूको समीक्षा र आगामी कार्यदिशाको विषयमा छलफल हुनेछ ।’

नेतृत्वको असक्षमताले हालसम्म कांग्रेसले बदलिएको संरचनात्मक व्यवस्थाअनुरुप नयाँ विधानलाई कार्यान्वयन गर्न सकेको छैन । तीन जिल्लामा समायोजनको काम अझै बाँकी छ । महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यता नविकरण र वितरणको काम लथालिङ्ग छ । बैठकमा यी विषयहरूमा चर्को बहस र आरोप प्रत्यारोप हुने निश्चित भएको सहजै अनुमान गर्न सकिन्छ ।

कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुन नसक्नुमा सभापति शेरबहादुर देउवाको मात्र नभइ इतर समूहको रूपमा चिनिएका पौडेल र सिटौला समूह पनि उत्तिकै दोषी छन् । प्रतिनिधिसभा विघटन विरुद्ध सडकमा नेता पिच्छे फरक मत देखिनु पनि कांग्रेसका लागि अहितकर छ । त्यसकारण कांग्रेसले आफ्नो जीवन मरणसँग जोडिएको विषयलाई एकमतका साथ टुंगोमा पुर्‍याउनुको विकल्प छैन ।