१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यमनमा जारी द्वन्द्वले थप संकट ल्याउने राष्ट्रसंघको चिन्ता


0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउने भन्दै चिन्ता व्यक्त गरेको छ । उत्तरी यमनमा होथी विद्रोहीले जारी राखेको सशस्त्र द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भइसकेकाले तत्काल समस्या समाधान नभए आगामी दिनमा थप मानविय संकट आउने राष्ट्रसंघले चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघका मावियय सहायता मामिला प्रमुख मार्क लोकोकले विद्रोही होथी समूहको सक्रियताले चिन्ता बढाएको बताउनु भएको छ । यमनको उत्तरी क्षेत्र मारिबमा भएको आक्रमणमा मात्र २० लाख भन्दा बढी समर्वसाधारण प्रत्यक्ष प्रभावित हुने राष्ट्रसंघको दावी छ ।

यसै महिनाको सुरुदेखि राजधानी सानाबाट १२० किलोमिटर पूर्वमा रहेको मारिब सहरमा कब्जा गर्ने क्रममा विद्रोहीले सञ्चालन गरेका हिंसात्मक गतिविधिप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको हो ।

यसैबीच यमन सरकारका सैनिक अधिकारीहरुले भने विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा सेनाले कारवाही अघि बढाएको दावी गरेका छन् । विद्रोहीविरुद्धको कारवाही मा सेनाले ठूलो सफलता हात पारेको दावी समेत सरकारको रहेको छ । घटनामा सरकारी सेना र विद्रोही दुवै पक्षका दर्जनौ व्यक्ति मारिएको आशंका गरेपनि संख्या भने नखुलाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एजेन्सी