
मीरा बस्नेत/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन ७ । साउन महिनाको पहिलो सोमबार । साउने सोमबारको पहिलो दिन हिन्दू नारीहरुले ब्रत बसी भगवान शिवको पूजा आराधना गरेका छन् ।
काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीकोे घुइँचो लाग्यो ।
काठमाडौंको पशुपतिनाथ क्षेत्र बिहानैदेखि रंगिन देखिन्थ्यो । पशुपति मन्दिरमा हरियो–रातो–पहेंलो चुरापोते र वस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाको घुइँचो लागेको थियो ।
विभिन्न रङका चुरापोते र वस्त्रमा सजिएका महिलाहरुले पशुपति क्षेत्रको वातावरणमा झनै चमक थपिएको थियो ।
पौराणिक मान्यताअनुसार पार्वतीले शिवजी पति पाऊँ भनी ब्रत बसेको र ब्रतको प्रभावले भगवान शिवलाई पतिकारुपमा पाउन सफल भएको जनविश्वास रहिआएको छ ।
साउने सोमबारको ब्रत विवाहित महिलाले पतिको लामो आयु र घर–परिवारमा सबैको सुस्वास्थको कामना गर्दै बस्छन् भने अविवाहिताले राम्रो वरको कामना गर्दै बस्छन् ।
साउन महिना र सोमबार भगवान शिवको प्रिय भएकाले यसदिन महिलाहरु ब्रत बसी पूजाआजा गर्ने एवं नदी–तालतलैयालगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर शिव मन्दिरमा चढाउने चलन रहिआएको छ ।
परम्परादेखि चलिआएको संस्कृति जोगाउन पनि साउने सोमबारको महत्व रहेको जानकारहरु बताउँछन् ।
साउनको पहिलो सोमबारदेखि बोलबम यात्रा पनि सुरु भएको छ । शिवभक्तहरु यो महिना पवित्र स्थलको जल शिव मन्दिरमा लगेर चढाउने गर्दछन् । यसलाई बोलबम यात्रा भन्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्