
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अतिक्रमण भएको खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।
महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालको नयाँ भवन निर्माणका क्रममा थुपारिएका सामग्री खाली गरेको हो ।
दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै महानगरपालिकाले ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दरबार हाइस्कुल र वीर अस्पतालको भवन निर्माण सकिएपछि निर्माण सामग्री हटाएर खुलामञ्च खाली गरिएको जानकारी दिनुभयो ।
उहाँले अब क्रमश बसपार्क पनि खुला गर्ने जानकारी दिनुभयो । काठमाठौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताउनुभयो ।
कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको थियो ।
दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेको भन्दै खुलामञ्च खुला गर्ने पहल थालेको महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्