७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड


0
Shares

दिवस रिजाल
खोटाङ । बाह्रै महिना एकनास बगिरहने सङ्लो पानीमा रातो र रङ्गीविरङ्गी माछाका कारण चिर परिचित छ भुलभुले दुधकुण्ड ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डमा घुम्न र दर्शन गर्न अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुले दूधकुण्डको प्रवद्र्धन गर्न नगरपालिकाले ६० लाख रुपैयाँको लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिरहेको नगरप्रमुख दिपनारायण रिजाल बताउनुहुन्छ ।

बाह्रै महिना उतिनै पानी हुने र उम्रिरहने भुलभुले दूधकुण्डमा जलसिकारी र सातकन्यादेवीको पूजाअर्चना गर्ने गरिन्छ । जमिन मुनिबाट भुलभुल गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा रोगव्याधी नष्ट हुने जनविश्वास रहेको देउधामका पुजारी ध्यान बहादुर राईको भनाइ छ ।

दिक्तेल बजारबाट यातायातको सवारी साधन प्रयोग गरेर जाँदा करिब आधा घण्टामा पुगिने भुलभुले दूधकुण्डबाट झण्डै एक किलोमिटर उकालो पैदल चढेपछि ‘रुवालुङ’ झरनाको मनोरम दृष्य देखिन्छ । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक एक सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने गरेको स्थानीय बताउँछन् ।

भुलभुले दूधकुण्डमा खोटाङलगायत छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत दर्शनार्थी आउने गरेका छन् । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट झण्डै १० किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा पर्यटकलाई आकर्षित गर्ने किसिमका सुविधासहितको होटल निर्माण गरेर प्रचारपसार गर्न सके पर्यटनबाट राम्रो आम्दानी गर्न सकिन्छ ।