
एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । सुरुमा विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगलाई कटौती गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको पक्षमा बोलेको भन्दै सहयोग रकम नै रोकेका थिए ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उहाँले अमेरिकाले उक्त रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने बताउनुभएको छ ।
विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै आफूहरूले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको बताउनुभएको छ । अमेरिकाको यो सहयोगले महामारीसँग जुध्न सहयोग पुग्ने अमेरिको विश्वास छ ।
गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गर्नुभएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने ट्रम्पको निर्णय खारेज गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्