
प्रकाश नेपाल ।
इलाम । नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र गुणस्तर सुधारका लागि पहिलो पटक सरकार मार्फत कृषि क्षेत्रमा परियोजना सुरु गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिया तथा कफी विकास बोर्डले इलाममा सञ्चालन गर्न लागेको परियोजनाले चिया खेती तथा व्यवसायमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गत असोजमा इलाममा सरकारले सुरु गरेको ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयाज’ ट्रेडमार्क कार्यान्वयनमा आएपछि चियामा थप गुणस्तर सुधार गर्दै अन्तराष्ट्रिय बजार विस्तार हुने अपेक्षा गरिएको छ । ३६ महिनासम्म चल्ने आयोजनाले चियाको बोटदेखि उपभोक्ताको ओठसम्म सबै पक्षलाई फाइदा पुग्ने दावी गरिएको छ ।
करिब १७ करोड लागत अनुमान गरिएको परियोजनाले अर्गानिक सर्टिफिकेशन लगायत विभिन्न प्राविधिक पक्षमा पनि उल्लेख्य सहयोग पुग्ने केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउनुहुन्छ । नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा बिकाउ हुने स्तरको बनाउनुपर्नेमा पनि उहाँको जोड छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिया तथा कफी विकास बोर्ड परियोजनाले चियामा देखिएका विभिन्न समस्या समाधान गर्न सहयोग पुर्याउने प्रतिबद्धता जायर गरेका छन् ।
चिया रोपण सुरु भएको १ सय ५७ वर्षपछि विश्व वजारमा नेपाली चियाको प्रवर्द्धनका लागि थालिएको यो पहल स्वागत योग्य छ । तर, परियोजना सञ्चालन गर्दा चियाका वास्तविक सरोकारवालाको मर्ममा सकारात्मक छाप छोड्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्