१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९३ करोडमा २० लाख डोज खोप किन्दै सरकार, अब निजी क्षेत्रले पनि किन्न पाउने


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । दुई साता भित्र २० लाख डोज कोभिसिल्ड खोप नेपाल आउने भएको छ । अक्फोर्ड विश्वविद्यालय र एक्ट्राजेनिकाले विकास गरेको तथा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप नै नेपालले खरिद गर्ने लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक खोपका लागि ४ डलरका दरले ९३ करोड रुपैयाँ बराबरको रकम भारतलाई बुझाइसकेको छ । यसअनुसार एक डोज खोपको नेपाली ४ सय ६४ रुपैयाँ लागत पर्ने भएको छ ।

यस अघि भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । खोप खरिद गर्ने विषयमा स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीले निकै सहुलियत दरमा खोप नेपाल ल्याउन लागेको बताउनुभयो । मन्त्री त्रिपाठीले दुई हप्ता भित्र खोप ल्याएर फागुन २३ गते देखि ६० वर्ष उमेर माथिका व्यक्तिलाई खोप लगाउन सुरु गरिने जानकारी दिनुभयो ।

सरकारले देशको जनसंख्याको ७२ प्रतिशत व्यक्तिलाई खोप लगाउने जनाएको छ । जसमा स्वास्थ्य मन्त्री त्रिपाठीले असार दोस्रो साता भित्र लक्ष्य अनुरुपको खोप लगाई सक्ने दावी गर्नुभयो ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्सबाट पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप आउने पनि सरकारले जनाएको छ । यस्तै चीन सरकारले ५ लाख डोज खोप अनुदानमा दिने भएपछि औषधि व्यवस्थापन विभागले सार्स कोभ २ भ्याक्सिन (भेरोसेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सरकारले निजी क्षेत्रले समेत खोप ल्याउन सक्ने जनाएको छ । खरिद मूल्यको १० प्रतिशत मात्र नाफा जोड्न पाइने गरी निजी क्षेत्रलाई खोप आयातको अनुमति दिइने भए पनि निजी क्षेत्रले ल्याउने खोप सरकारले भने खरिद नगर्ने भएको छ ।