
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस विरुद्धको खोप लगाउन ज्येष्ठ नागरिकलाई प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि प्रकट गरेको छ । बिहीबार नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सह–महामन्त्री प्रकाशशरण महतले सरकारले कोरोना भाइरसबाट बढी प्रभावित नागरिकहरुको पहिचान गर्न नसकेको बताउनुभयो ।
‘अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा सञ्चारकर्मीहरूलाई खोपको प्राथमिकतामा राख्नु उपयुक्त हो’, उहाँले भन्नुभयो, ‘तर, ज्येष्ठ नागरिकहरूलाई धेरै अगाडि राखेर खोप वितरण गर्नुपर्ने थियो ।’
सरकारले कोभिड–१९लाई लापरबाही रूपमा लिएको आरोप लगाउँदै संयोजक महतले राहत र स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको बताउनुभयो । उहाँले महामारीको अवस्थामा सरकारले भ्रष्टाचार लाई दिर्नचर्या बनाएको आरोप लगाउनुभयो । भारतले अनुदानमा दिएको खोपको वितरण पारदर्शी हुन नसकेको बताउँदै उहाँले सरकारले खोप वितरणको कार्ययोजना नबनाएको आरोप लगाउनुभयो ।
अहिले कोरोना भाइरसको संक्रमण कम देखिए पनि नयाँ प्रकारको भाइरसको जोखिम उत्तिकै रहेकाले जोखिम न्यूनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने संयोजक महतको भनाइ छ ।
संयोजक महतले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र मापदण्डहरु पूरा भएका खोपहरु मात्र सरकारले ल्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले खोप वितरणको विस्तृत कार्ययोजना र विवरण सार्वजनिक गर्दै हरेक नागरिकलाई निःशुल्क खोप लगाउन पनि माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्