२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हुकुमको शासन नेपालमा चल्दैन किनकी कांग्रेस जिउँदो छ– गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालमा हुकुमको शासन नचल्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गर्न नुवाकोट पुगेका थापाले नेपालमा कांग्रेसले हुकुमी शासन चल्न नदिने बताउनुभयो ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुस बन्न खोजेको आरोप लगाउँदै मोहनशमशेर बन्न खोजे नेपाली कांग्रेस पहिलाकै स्थितिमा जाने हिम्मत गर्नुपर्ने बताउनुभयो । ‘श्री ३ मोहन शमशेर र केपी शर्मा ओलीमा के फरक ?’ उहाँले भन्नुभयो, ‘यदि ओली मोहनशमशेर बन्न खोज्छन् भने कांग्रेस पनि राणाकालीन समयको कांग्रेस बन्ने हिम्मत राख्न सक्नुपर्छ ।’

वीपी कोइरालाले मोहन शमशेरलाई निडर भएर भनेको विषय स्मरण गर्दै नेता थापाले प्रधानमन्त्री ओलीको आँखामा आँखा जुधाएर प्रश्न गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खड्गप्रसाद ओलीको आँखामा आँखा जुधाएर प्रश्न गर्नुपर्छ, हुकुमको शासन नेपालमा चल्दैन किनकी कांग्रेस जिउँदो छ ।’

सडकमा आएर प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई तर्साएको आरोप लगाउँदै नेता थापाले अदालतलाई तर्साउने प्रधानमन्त्रीलाई तर्साउने काम आफूहरुले गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसले कसैसँग पनि नडराइ कानुनसम्वत फैसला गर्नका लागि प्रधानन्यायाधीश र सर्वोच्च अदालतलाई ढाडस दिनुपर्ने उहाँको भनाइ छ ।

नेता थापाले सरकार र सडकमा बसेका कम्युनिष्टले चुनावको नौटङ्की मञ्चन गरेर देशलाई ठूलो द्वन्द्वतर्फ देशलाई धकेल्न खोज्दै गरेको आरोप लगाउनुभयो । आफ्नै पार्टीका सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै उहाँले देश सेटिङमा नभइ संविधानमा चल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रश्न गर्ने र आलोचना गर्नेको मुख थुन्नका लागि एक साताभित्र कानुन ल्याउन लागेको नेता थापाले खुलासा गर्नुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने निर्देशिका लागू भएमा प्रधानमन्त्री विरुद्ध अभिव्यक्ति दिनेलाई ५ वर्ष जेल हालिनेसक्ने समेत उल्लेख गर्नुभयो ।