१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला लिगको उपाधि एपीएफलाई, सरु सर्वोत्कृष्ट खेलाडी


0
Shares

काठमाडौं । शत्प्रतिशत नतिजासहित राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै एपीएफ शत्प्रतिशत नजितासहित लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन् । उपाधिसँगै एपीएफले १५ लाख, उपविजेता आर्मीले ८ लाख, तेस्रो नेपाल पुलिस क्लबले ५ लाख तथा चौथो वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ जितेको छ ।

सात टोली सहभागी दोहोरो लिग प्रणालीमा भएको प्रतियोगितामा एपीएफले १२ खेलबाट ३६, आर्मीले २६, तेस्रो भएको पुलिसले १८ अंक हासिल गर्‍यो । अन्तिम खेलमा शुक्रबार पुलिसले चौदण्डीगढी नगरपालिकालाई १०–० को फराकिलो अन्तरले हराउँदै पुलिस तेस्रो भएको हो । चौथो वालिङको १७, पाँचौं विराटनगर महानगरपालिकाको १६, छैटौं चन्द्रपुर नगरपालिकाको ९ तथा पुछारको चौदण्डीगढी अंकविहीन रह्यो ।

यता, सशस्त्रकी सरु लिम्बु सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । उनले यामाहाको स्कुटर प्राप्त गरिन् । यस्तै सशस्त्रकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिसकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र सशस्त्रकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।