
काठमाडौं । विश्वमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सुरु भएपनि धेरै देशहरुमा हालसम्म पनि बिरामीहरुको संख्यामा कमी आएको छैन् । दिनप्रतिदिन बढीरहेको बिरामीको सख्यालाई आधार मानेर बिभिन्न देशहरुमा कडाइलाई निरन्तरता दिइएको छ ।
यसैलाई मध्यनजर गर्दै क्यानडा, मेक्सिो र अमेरिकाले २१ मार्चसम्म कडाइ लम्ब्याएका छन् । कडाई गरिएसँगै अत्यावश्यकबाहेकका काममा यहाँका मानिसहरुले यात्रा गर्न पाउने छैनन् ।
यहाँका मानिसहरुले यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । २१ फेब्रुअरीसम्मका लागि गरिएको कडाईलाई अर्को एक महिनासम्मका लागि लम्ब्याइएको बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाईसम्म हरेक अमेरिकीलाई खोप लगाइने जानकारी दिएका छन् । उनले सरकार यसका लागि पूर्ण रुपमा तयार रहेको बताए । खोप कम्पनी फाइजरले प्रत्येक साता अमेरिकीहरुलाई एक करोड खोप लगाइने जानकारी दिएको छ । अमेरिकामा अहिलेसम्म ५ करोड ७० लाखभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको छ ।
त्यसैगरी चीनमा ४ करोड मानिसहरुले खोप लगाइसकेका छन् । युरोपेली युनियनअन्तर्गतका देशहरुमा अहिलेसम्म २ करोड ४५ लाख र भारतमा १ करोड ४ लाखले खोप लगाइसकेका छन् ।
विश्वमा अहिलेसम्म ११ करोड १२ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ६१ लाख मानिस निको भइसकेका छन् भने २४ लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्