
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसको राजनीतिमा युवालाई आकर्षित गर्न चार प्रस्ताव अघि सार्नुभएको छ ।
शुक्रबार राष्ट्रियता, लोकतन्त्र र समाजवादका निमित्त युवाहरूको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा उहाँले नेपालको राजनीतिमा युवाहरूको समानुपातिक प्रतिनिधित्व आवश्यकतामा जोड दिनुभयो ।
युवाहरूको जीविकोपार्जनको सुनिश्चितताका लागि आवाज उठाउने, पार्टीभित्र आन्तरिक लोकतन्त्र कायम गर्न स्पष्ट र विश्वसनीय कदम चाल्ने, पार्टी र देशका लागि युवाहरूसँग निरन्तर छलफल गर्ने र युवासँग राष्ट्रियता, लोकतन्त्र र समाजवादकै विषयमा सैद्धान्तिक छलफल गर्ने जोशीको प्रस्ताव छ ।
हातमा माक्स र स्वास्थ्य सामाग्री बोकेर आफ्नो निर्वाचन क्षेत्रमा घुमिरहनुभएका जोशीले युवाजगतलाई राष्ट्रिय राजनीतिमा जोड्ने सेतुको रूपमा युवासँग संवादको कार्यक्रम थालनी गरेको जानकारी दिनुभयो ।
सिङ्गो राजनीतिबाटै युवाको पलायन हुन थालेकाले संवाद कार्यक्रमको थालनी गरेको जोशीको तर्क छ । ‘पार्टीको १४औँ महाधिवेशन नजिकिएको छ, देशमा संकट उत्पन्न भएको छ, यस्तो वेला युवाको विचार र गुनासा, समस्या सुन्न जरुरी छ’, जोशीले भन्नुभयो ।
जोशीले कांग्रेसका भातृ संस्थाहरू नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायत संगठन सम्बद्ध युवा नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहनुभएको छ ।
पार्टीमा युवासँग संवाद गर्ने, युवाका कुरा सुन्ने चलन हराएकाले कम्तीमा महिनामा एकपटक युवासँग बसेर छलफल गर्ने थालनी गरेको जोशीले जानकारी दिनुभयो । अहिलेका युवा राजनीतिप्रति अनिच्छुक रहेको हो कि ? भन्ने आभास भएकाले कार्यक्रमको आयोजना गर्नुपरेको जोशीले बताउनुभयो ।
‘विगत ७० वर्षदेखिको अथक संघर्षपश्चात् पनि देशमा लोकतन्त्र सुदृढ हुन नसक्नु तथा कुनै पनि सरकार पूरा अवधि टिक्न सक्दैनन् । यसको नकारात्मक असर युवा दिमाग पर्नु दुःख त हो ।’ जोशीको तर्क थियो ।
चेतनशील र ऊर्जावान् युवावर्ग राजनीतिप्रति अनिच्छुक भएकाले लोकतन्त्र संस्थागत हुन नसकेको जोशीको भनाइ छ । युवालाई पार्टीमा जिम्मेवार र अनुशासित बनाउन निरन्तर संवाद र छलफलको संस्कार बसाउन सके समस्याहरु समाधान हुँदै जाने जोशीको धारणा छ ।
‘नेपालमा युवाको जनसंख्या ४० प्रतिशत छ, उनीहरूलाई यदि हामी लोकतन्त्रवादी हौँ भने पार्टीका सबै तहमा कम्तीमा ४० प्रतिशत सहभागिता सुनिश्चित गरौँ, तब मात्र युवालाई पार्टी र राजनीतिमा आकर्षित गराउन सकिन्छ,’ जोशीले भन्नुभएको छ ।
कांग्रेसले युवाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने कार्यक्रम ल्याउनुपर्ने जोशीको तर्क छ । बेरोजगार सबैका लागि रोजगारीको वातावरण बनाउँदै युग सुहाउँदो शिक्षा, रोजगारी र राजनीतिको अनुक्रमलाई अवलम्बन गर्नुपर्ने जोशीको जोड छ ।
प्रतिक्रिया दिनुहोस्