
प्रज्ञा तिमल्सिना
काठमाडौं । सरकारले फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले आफूहरूले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याइने जानकारी दिनुभयो । उहाँले २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटक–पटक गरेर पठाउने छ ।
विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) लगायत संस्थाले निम्न आय भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । ‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ ।
भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको छ । सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।
केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्ताभित्र नेपाल आउने आउने मन्त्रालयले जनाएको छ । सोही खोप फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको हो ।
यसैगरी पहिलो चरणको खोप अन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ । थप दुई दिन खोप लगाउने समय बढाइएको हो । दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपंक्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् ।
देशभर हालसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्