
काठमाडौं । नेपालबाट निकासी हुने वस्तुको सूचीको अग्रस्थानमा यसपटक भटमासको तेल देखिएको छ । तर, भटमासको तेल नेपालमा उत्पादन भएर बाहिर निर्यात भएको नभइ कच्चा पदार्थ आयात गरेर प्रशोधित तेल मात्र नेपालबाट निर्यात भइरहेको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार माघ महिनासम्ममा नेपालमा २० अर्ब ९८ करोडको सोयाबिन तेल आयात हुँदा १९ अर्ब ५९ करोडको मात्रै तेल निर्यात भएको छ । यो तेल भारततर्फ निर्यात भएको विभागले जनाएको छ । यी तथ्याङ्कअनुसार नेपालमा २ करोडको मात्रै तेल रहँदा बाँकी तेल निर्यात भएको देखिन्छ ।
माघ मसान्तसम्म नेपालको कुल निर्यात ६९ अर्ब ७१ करोड पुगेको छ । निर्यातको ठूलो हिस्सा अर्थात २७ प्रतिशत (१९ अर्ब ५९ करोड रकम बराबरको) भटमास तेल मात्रै निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा भटमासको तेल ९ अर्ब ६६ करोडको आयात भएको थियो भने ४ अर्ब ५६ करोडको भारततर्फ निर्यात भएको विभागले जनाएको छ ।
नेपालमा भटमास तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया लगायतका मुलुकबाट आयात हुने गरेको विभागले जनाएको छ । यसरी विभिन्न देशबाट कच्चा पदार्थ मात्रै नेपाल भित्रिने अवस्थाले रोजगारी सिर्जना तथा स्वदेशी उत्पादनमा भने कुनै टेवा पुग्न सकेको देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्