
काठमाडौं । ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याउनुभएको हो ।
ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ ।
एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइनको मजा लिन काठमाडौं लगायत आसपासका जिल्लाबाट पर्यटक आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
पर्यटकहरू पनि साहसिक खेल खेल्न पाउँदा निकै खुसी देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरूको भनाइ छ ।
सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नबिगारिकन साहसिक पर्यटनको विकास गर्ने उदेश्यले जिपलाइन सञ्चालनमा ल्याइएको श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्