
काठमाडौं । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कोमल शाहको ७० औं जन्मोत्सव मनाउने क्रममा झापाको होटल मेची क्राउन पुगेका राजपरिवारका सदस्यहरुसहित राजारानी छमछमी नाचेको भिडियो भाइरल भएको हो ।
‘शुभकामना भरी हरेक श्वासमा’ भन्ने गीतमा पूर्व राजा र रानीले खुशी साथ प्रेमपूर्वक नाचेका छन् । ७० वर्षको उमेरमा पनि पूर्व राजारानीले प्रेमभावमा उन्मुक्त भएर नाचेका छन् । उनीहरुको यो भिडियो युवराज्ञी हिमानी शाहले सामाजिक सञ्जालमा सेयर गर्नुभएको थियो । उक्त गीत कोमलकी आफ्नै दिदी स्वर्गीय रानी चाँदनी शाहले लेख्नुभएको थियो भने उक्त गीतमा स्वर स्वर्गीय तारादेवीले दिनु भएको हो ।
राजपरिवारका नजिकका सदस्यहरु सहित ६० जना भन्दा बढी पूर्वरानी कोमलको जन्मोत्सव मनाउन होटल मेची क्राउन पुगेका थिए । राजपरिवारका सदस्यहरुले लाइभ ब्यान्डमा ‘सम्झना विर्सना सलल’ भन्ने गीतमासमेत सामूहिक नृत्य गरेका थिए । उनीहरु निकै खुशी देखिन्थे ।
पूर्व युवराज्ञी हिमानीले सेयर गरेको राजपरिवार नाचेको भिडियो करिब ७२ हजारले हेरेका छन् । ४ सय ७४ जनाले रिट्विट गरेका छन् भने ९९ जनाले कमेन्ट र ४६ सयले लाइक गरेका छन् । उक्त भिडियोमा सकारात्मक र नकारात्मक दुवै खालमा प्रतिक्रियाहरु आएका छन् ।
उक्त जन्मोत्सव कार्यक्रममा पूर्व युवराज पारस शाहसमेत सहभागी थिए । लामो समयदेखि परिवारसँग टाढा रहेका पारस होटल मेची क्राउनमा भने परिवारसँगै देखिनुभएको थियो । मंगलबार पारस, कोमल, हृदयेन्द्र र हिमानीको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै हिमानीले ‘जीवन प्रतिशोध लागी होईन, प्रेमका लागी हो, शुभ प्रभात, सबैको दिन सुखमय वितोस्’ भनि सेयर गर्नुभएको छ । एकअर्काबाट टाढा रहेका हिमानी र पारस एउटै फ्रेममा देखिएर फोटो सेयर गर्नुले दुवै जनाको सम्बन्ध सुधार भएको हो कि भन्न सकिन्छ ।
पूर्व राजपरिवार किन पुग्यो झापाको होटल मेची क्राउन ?
बिर्तामोडमा रहेको होटल मेची क्राउन पूर्वको पाँचतारे होटल हो । पूर्व रानी कोमलको जन्मदिन काठमाडौंका यतिका तारे होटलहरुमा नमनाएरराजपरिवार किन झापा पुग्यो भन्ने जिज्ञासा धेरैमा हुनसक्छ । कतिले पूर्व राजपरिवारलाई कसैले स्पोनसर गरेर लगेको या होटल आफैले स्पोन्सर गरेको हो कि भन्ने पनि लाग्न सक्छ । तर यसको कारण अर्कै छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पूर्व राजपरिवारका सदस्यहरुहरु पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र पूर्व युवराज्ञी हिमानीसहित उनीहरुको परिवार होटल मेची क्राउन पुगेको थियो । ‘त्यहाँ पहिलो पटक जाँदा उहाँहरु निकै प्रभावित हुनुभयो’ मेची क्राउनका सञ्चालक राज कुमार बस्नेतले भन्नुभयो, ‘त्यसैले पूर्व रानी कोमलको जन्मोत्सव मेची क्राउनमै मनाउन उहाँहरु आउनुभयो ।’
मेची क्राउनमा राजपरिवारका सदस्यहरु निकै रमाए । उनीहरु ५ दिन ४ रात उक्त होटलमा बसेका थिए । नयाँ वर्षमा परिवारसँग नगएका पारस पनि आमाको जन्मोत्सव बनाउन मेची क्राउन पुग्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्