
नवलपुर । मागअनुसार विद्युत नपाउँदा उत्पादनको लागत बढेको भन्दै नवलपुरको होङ्सी सिमेन्ट कारखानाले गुनासो गरेको छ ।
दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टले आवश्यक विद्युत पाउन नसकेको जनाएको छ । विद्युत् आपूर्ति अभाव हुँदा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको हो ।
मागअनुसार विद्युत नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनु परेकाले लागत बढेको कारखानाले जनाएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको सिमेन्ट कारखाना दैनिक कम्तीमा ६० हजार लिटर डिजेल कै भरमा कारखाना सञ्चालन हुने गरेको छ ।
हाल कारखानाबाट उत्पादित ओपीसी सिमेन्ट ६ सय रुपैयाँ र पीपीसी सिमेन्ट ५ सय रुपैयाँमा बिक्री हुन्छ । यो अरूको तुलनामा प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो रहेको उसको दाबी छ । मागअनुसारको बिजुली आपूर्ति हुन सके बिक्री मूल्यमा प्रतिबोरा कम्तीमा ५० रुपैयाँ सस्तोमा बेच्न सकिने कारखानाको भनाइ छ ।
होङ्सीका सहायक महाप्रबन्धक जेम्सका अनुसार डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण कारखाना परिसरमा बत्ती बाल्न मात्र बिजुली दिएको छ ।
आवश्यक बिजुली आपूर्तिका लागि प्रसारण लाइन निर्माण भइरहेको जनाइएको छ । अहिले उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्