
प्रज्ञा तिमल्सिना
काठमाडौं । ९ वर्ष अघि खाना पकाउँदा ग्यास पड्किएर रेणुका श्रेष्ठलाई लागेको चोट अझै ताजै छ । सानै उमेरमा विवाह भएको रेणुका ग्यास पड्किदा मात्र १७ वर्षकी थिइन् । ग्यास पड्किएर उनको अनुहार र हात पोलेको थियो । ज्यान त जोगियो तर पोलिएको शरीर भने पूर्ववत अवस्थामा फर्किएन ।
अनुहारको चोटका कारण सुरुवाती चरणमा विवाह गरेर आएको घरमा नै उनी अपहेलनाको शिकार बनिन् । श्रीमानको साथ र सहयोगले आत्मविश्वास बटुल्न सफल भएको स्मरण गर्दै उनले आफ्नो अनुहारलाई समाजले स्वीकार नगर्दा एकदमै नराम्रो लाग्ने बताउँछन् । अनुहारकै कारण जागिर समेत नपाएको तीतो यथार्थ उनले व्यहोरेकी छन् ।
रेणुका जस्तै देशभर वार्षिक रूपमा झन्डै ५६ हजार व्यक्ति विभिन्न कारणले पोलिने गरेको तथ्यांक छ । ति मध्ये पनि झन्डै २ हजार १ सय व्यक्तिको त ज्यान नै जाने गरेको छ । धेरै जसोे प्रदेश २ का जिल्लाहरूबाट यस्तो समस्या लिएर आउनेको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।
तराईका जिल्लाहरूबाट आउनेहरूमा एसिड आक्रमण, आगोले पोल्ने र विभिन्न केमिकलका कारण शरीर पोलिने समस्या रहेको बर्न तथा प्लाष्टिक सर्जन डा. सुरेन्द्रजङ्ग बस्नेतले बताउनुहुन्छ ।
४० प्रतिशत भन्दा बढी पोलिएको व्यक्तिको मृत्यु हुने सम्भावना उच्च हुने गर्दछ । २० प्रतिशत सम्म पोलिएको व्यक्तिलाई भने बचाउन सकिने तर प्राथमिक उपचारसँगै चाँडो भन्दा चाँडो चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने डा. बस्नेत बताउनुहन्छ ।
पोलेको ५ दिनदेखि ७ दिनपछि शरीरका विभिन्न भागहरूमा इन्फेक्सन देखिन सुरु भएपछि त्यसले अन्य अंगमा असर गरेर व्यक्तिको मृत्यु हुने गरेको डा. बस्नेतको भनाइ छ ।
विभिन्न कारणले शरीर पोलिएका व्यक्तिको पहिलेको जस्तो छाला भने बनाउन सकिँदैन । छाला पोलिएका कारण विभिन्न शारीरिक र मानसिक रूपमा समस्यामा परेका व्यक्तिलाई समाजमा पुनर्स्थापित गराउन तथा सामाजिक विभेद हटाउन सबैको साथ र सहयोग आवश्यक पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्