
नविन सिंह
जनकपुरधाम । गठन भएको तीन वर्षमा सरकारको कुनै पनि योजना सफल नभएको भन्दै प्रदेश १ का विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । आफैँले ल्याएका योजना सफल बनाउन नसकेको र संघ सरकारलाई गाली गरेर तीन वर्ष बितएको उनीहरूको आरोप छ ।
तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक पछि प्रतिपक्षी दलका नेताहरूले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप समेत विपक्षी दलले लगाएका छन् । दाहाल–नेपाल समूहको नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डलले गएको तीन वर्षको प्रदेश सरकार पूर्ण असफल भएको टिप्पणी गर्नुभयो ।
मण्डलले प्रदेश सरकारको तीन वर्षको समय त्यसै खेर फालेको बताउँदै जनतामाथि घात गरेको आरोप लगाउनुभयो । तीन वर्ष बित्दा पनि प्रदेशको नामाकरण र स्थायी राजधानी समेत तोक्न नसक्नुले पनि प्रदेश सरकारको असफलता प्रमाणित गर्ने उहाँको भनाइ छ । सरकार कमिसनको खेलमा लाग्दा जनतामा निरासा बढेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि प्रदेश सरकार पूर्ण असफल रहेको प्रतिक्रिया दिनुभएको छ । प्रदेश सरकारले जनताको काम गर्न नसकेको, विकास निर्माणका काममा ध्यान नदिएको उहाँको आरोप छ । आफूले गरेको प्रतिबद्धताअनुसारको काम नसकेकाले सत्ताधारी दलले मधेशी जनतालाई ठगी गरेको यादव बताउनुहुन्छ । पिछडिएको क्षेत्रमा हुनुपर्ने लगानीले आफ्ना कार्यकर्ता पोसिरहेको उहाँको आरोप छ ।
प्रदेश–२ सरकारले कोभिड नियन्त्रणको नाममा स्वास्थ्य सामग्री खरिद र क्वारेन्टाइन तथा आइसोलेशनको नाममा करोडौं रकमको भ्रष्टाचार गरेको विपक्षी दलका नेताहरूको आरोप छ । विकास निर्माणमा खर्च गर्नुपर्ने बजेटमा कार्यकर्ताको पालनपोषणमा खर्च भएको उनीहरूको निष्कर्ष छ । विपक्षी दल र जनताको नजरमा पनि राम्रो बन्नका लागि सरकारले शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधा बिस्तारमा जोड दिनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्