१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलको मूल्य बढेपछि मुख्यमन्त्रीकै विरोध


0
Shares

काठमाडौं । भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि जनस्तरबाट मात्रै होइन सत्तापक्षबाटै विरोध हुन थालेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले स्कुटरमा यात्रा गर्नुभएको छ । बिहीबार उहाँले ब्याट्रीबाट चल्ने स्कुटर चढेर आफ्नो सचिवालय बनान्नो पुग्नुभएको छ ।

स्कुटर पश्चिम बंगाल सरकारका मन्त्री एवं कोलकात्ताका मेयर फरहाद हकिमले चलाउनुभएको थियो । पश्चिम बंगालमा विधानसभाको निर्वाचन नजिकिँदै गर्दा मुख्यमन्त्रीको यो कदमलाई ‘पब्लिसिटी स्टन्ट’को रूपमा पनि हेरिएकाे छ ।

भारतमा अन्य करबाहेक केन्द्र सरकारले मात्र ३२ भारु प्रतिलिटर कर लगाउने गरेको छ । त्यसबाहेक प्रान्तिय सरकारले पनि कर लगाएर बेच्दा पेट्रोलियम पदार्थ महंगो हुने गरेको छ । दक्षिण एसियामै भारतमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा बढी छ ।

पछिल्लो दुई सातादेखि लगातार बढिरहेको पेट्रोलको मूल्य कैयौं राज्यमा १ सय भारु भन्दा बढी भइसकेको छ । राज्यअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक–फरक हुने भारतमा दैनिक मूल्य समायोजन हुने गरेको छ ।