
एजेन्सी । न्यूजिल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दोस्रो हार व्यहोरेको छ । यूनिभर्सिटी ओभल मैदान डुनेडीनमा बिहीबार भएको खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो ।
न्यूजिल्याण्डले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका मार्कोस स्टोइनिसले ७८ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
यस्तै जोस फिलिपले ४५ रन जोड्दा डानिल सामले ४१ र म्याथ्यु वेडले २४ रन बनाए । न्यूजिल्याण्डका मिचेल स्यान्ट्नरले ४ विकेट लिए । जेम्स निशमले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ९७ र कप्तान केन विलियम्सनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स निशमले अविजित ४५ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए ।
जितसँगै पाँच खेलको सिरिजमा न्यूजिल्याण्डले २–० को अग्रता बनाएको छ । तेस्रो खेल ३ मार्चमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्