
प्रज्ञा तिमल्सिना
काठमाडौं । मंसिर अन्तिम सातादेखि घट्न थालेको कोरोना संक्रमितको संख्या दिनहुँ १ सय हाराहारी रहेको छ । झन्डै तीन महिना यता संक्रमितको संख्यामा निकै कमी देखिन थालेको हो ।
तर, दिनहुँ भेटिने गरेका संक्रमित कुन क्षेत्रका हुन ? परीक्षण गराउन आउने व्यक्ति लक्षण सहितका छन् कि छैनन् ? के संक्रमण दर घटेकै हो त भनेर ईमेज च्यानलले काठमाडौंमा पीसीआर परीक्षण गराइरहेका अस्पतालमा बुझेको छ ।
हाल काठमाडौंका प्रयोगशालाहरूमा मुस्किलले १ सय जस्तो व्यक्ति परीक्षणका लागि आउने गरेको पाइयो । कोरोना परीक्षण गराउनेहरूमा अधिकांश विदेश जाने र कार्यालय कामकाजका लागि परीक्षण गराउने भेटिए । दैनिक कुल परीक्षण गराउनेमा ६० प्रतिशत त विदेश जाने व्यक्तिहरू रहेको पाइयाे ।
दैनिक संक्रमितको संख्यामा कमी आउनु र निको हुनेको संख्या अधिक रहँदा देशभर संक्रिय संक्रमितको संख्या स्वतः घट्ने नै भयो । अहिले देशभर करिब १ हजार ५ सय जना संक्रिय संक्रमित रहेका छन् ।
यसरी संक्रमण जित्नेको संख्या ९८ दशमलव ७ प्रतिशत पुगेको छ । यो तथ्यांक अनुसार के अब संक्रमण कम हुन थालेको हो त भन्ने प्रश्न उब्जिएको छ । वीर अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्की भने परीक्षण गर्न आउनेको आधारमा हेर्दा संक्रमित घटेको देखिने बताउनुहुन्छ ।
पहिला बाहिर जिल्लाहरूबाट पनि स्वाबको नमुना आउने गरेकोमा अहिले आउन छोडेको डा.कार्कीको भनाइ छ । पछिल्लो समय बिरामीको स्वाबको मात्र परीक्षण गर्ने गरिएकाले समुदायमा केही बढी मानिसमा संक्रमण हुनसक्ने उहाँको अनुमान छ ।
पछिल्लो समय सरकारले कोरोना परीक्षण गराउने प्रयोगशाला र अस्पतालहरू समेत घटाएको छ । हाल २९ वटा प्रयोगशालाबाट मात्र पीसीआर परीक्षण हुँदै आएको भने सरकारी अस्पतालहरूले मात्र कोरोना संक्रमणको उपचार गर्ने गरेका छन् ।
हाल परीक्षण गराउने अधिकांश लक्षण नदेखिएकाहरू रहेका छन् । लक्षणै नदेखिएकाको ३ प्रतिशत हाराहारीमा संक्रमण पुष्टि हुुनुले संक्रमण दर घटिसकेको भन्न नमिल्ने टेकु अस्पतालका निर्देशक डा.सागर कुमार राजभण्डारीको भनाइ छ ।
‘अस्पतालको तथ्याङ्क हेर्दा एक हप्तादेखि कोरोनो पोजेटिभ हुनेको संख्या बढ्दै गएको छ,’ उहाँ भन्नुहुन्छ, ‘दोस्रो वेभ आउँछ कि भन्ने शंकालाई पनि बढाएको छ ।’ खोप लगाइसकेपछि मानिसहरूले बढी लापरबाही गर्न थालेको उहाँको भनाइ छ ।
विदेश जाने र आफनो व्यक्तिगत काममा परीक्षण गराउनेको तथ्यांक हेरेर मात्र नेपालमा कोरोना संक्रमण र जोखिम कम भयो भनेर स्वास्थ्य सुरक्षामा लापरबाही नगर्न विज्ञहरूले सचेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्