२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025


प्रतिगमन जिरो माइल !


0
Shares

पेशल आचार्य
प्रतिनिधिसभा पुन:स्थापनाको फैसलासँगै दुईथरी नेकपमध्ये दाहाल–नेपाल गुटमा खुसियाली देखिएको छ भने ओली गुटमा उदासी छाएको छ । राजनीतिको पल्ला फेरि अर्को पटकका लागि दाहाल–नेपालतर्फ भारी भएको छ । नौरङ्गी टिप्पणीले सामाजिक सञ्जाल भरिभराउ भएका छन् भने दाहाल–नेपाल गुटका नेता र कार्यकर्ताहरूको चुरीफुरी नै फरक देखिएको छ ।

यी त भए सतहका कुरा । तर कुरोको चुरो समाएर विश्लेषण गर्ने हो भने अदालतको फैसला यस्तो घटना हो जसले नेपाली राजनीतिमा ‘यु-टर्न’ मात्र निम्त्याएको छैन उस्तै परीआए यही फैसलाको विन्दुबाटै नेपाली राजनीतिमा प्रतिगमनको शुरूवात हुनसक्छ । अनेकथरी विश्लेषण र मतमतान्तर भइरहेका छन् । त्यसैले बुज्रुकहरूले राजनीतिलाई सम्भावनाको खेल भनेका रहेछन् ।

नेकपा दाहाल–नेपालको कोर्टमा बल फेरि गएको छ । त्यो गुटले सुझबुझपूर्ण निर्णय गरेर नेपाली राजनीतिलाई सल्ट्याउन खोज्यो भने त ट्रयाकमा हिँड्ला, नत्र अघि जेजे आउँछन् तीती काम गर्दै हिँड्ने हो भने फेरि भद्रगोल राजनीतिको आरम्भ नहोला भन्न सकिन्न । हिजो एमसीसीका विपक्षमा रहेका दाहाल–नेपाल र उनका खम्भीर पक्षपातीहरू अहिले दाहाल–नेपाल समर्थनमा कांग्रेसको या कांग्रेसको समर्थनमा दाहाल–नेपालको सरकार नबन्दै एम्सीसीलाई दिलैदेखि जप्न थालिसकेका छन् ।

नेकपा दाहाल–नेपाल गुटकी नेतृ रामकुमारी झाँक्रीले हालै दिएको एमसीसी समर्थनको अभिव्यक्ति र भावी राष्ट्रपतिका लागि योजनै बनाएर लागेका दाहाल–नेपाल गुटका नेता झलनाथ खनालले त भन्न पनि भ्याइसकेछन् –‘मलाई राष्ट्रपति बनाइयो भने सुधारसहित एमसीसी पास हुन्छ ।’

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन उर्फ एमसीसी अब कुनै पनि हालतमा संसदको बहुमतले पास हुने भयो । हिजो ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घटनालाई प्रतिगमनको संज्ञा दिने उनका विपक्षीहरू अहिले दाहाल–नेपालको पक्षमा भएको अदालतको फैसलाको कार्यान्वयनलाई ‘प्रतिगमनको प्रस्थान विन्दु’ भन्दै सार्वजनिक अभिव्यक्तिमा समेत आइसकेका छन् ।

सबैभन्दा धेरै घात त यहाँ जनतालाई भएको छ । जनताले यी महान् मानेका नेताहरूलाई कथम् यिनीहरू मिले भने पनि के गरी स्वीकार्ने हुन् त्यसको जवाफ अहिले कसैसँग पनि छैन । जब राजनीतिमा जो कोही व्यक्ति वा संस्था नाजवाफ हुन्छ या बनाइन्छ अनि राजनीतिको अस्तित्व सकिन्छ । लाग्छ यतिखेर नेपाली राजनीतिमा यो खाले राजनीतिको अस्तित्व सकिएको अवस्था ज्ञात हुँदै छ । कि यो भ्याकुममा नयाँ ‘नन टेष्टेड’ राजनीतिक पुस्ता नेतृत्वका लागि आउनु पर्‍यो । कि त संविधानमा संशोधन गरेर जवाफदेहिताका केही अध्यायहरू थप्नुपर्‍यो । जस्तो कि ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’ को व्यवस्था ।

बिहीबारै पनि बालुवाटारको नयाँ रणनीति आइसकेको छ । जहाँ भनिएको छ –‘भावी प्रधानमन्त्री प्रचण्ड र पार्टी अध्यक्ष केपी ओली । दुवै नेकपामा एकीकरण भई पार्टीको सुदृढीकरण ।’ कम्युनिष्टहरू अनेक बहानावाजीमा जसरी अनेक फत्तुर लगाएर फुट्न सक्छन् त्यसैगरी पदका कदकाँटी मिलाउनका लागि भोलि नजुट्लान भन्ने के ग्यारेन्टी छ ?

यी दुवै कुराहरूको व्यवस्था पनि गर्न सकिएन भने फेरि उही हामी घुमीफिरी रुम्झाटारको चक्रमा फँस्न पुग्नेछौं । दिग्दारीसाथ भन्नै पर्छ त्यो यात्राले हामीलाई फेरि वृत्तको राजनीतिमा मात्र घुमाउने छ । कहीँ पनि पुर्‍याउने छैन । दृष्टान्तकै रूपमा अहिले फागुन ११ गतेको सर्वोच्चको फैसलाको सन्निकट पारेर दाहाल–नेपाल गुटका नेता झलनाथ खनाल र भर्खरै मात्र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको उपचारको बहानामा दिल्लीको गमनलाई ‘प्रतिगमन’ कै शब्दावलीले समेत पुकारिन थालिएको छ । कुरोको चुरो केही समयपछि आफैँ सतहमा आउने छ ।

ओलीलाई भन्न त उनका विपक्षीहरूले कागजी तानाशाह, सन्की शासक, उखाने प्रधानमन्त्री र सपना देख्ने तर सपनालाई सार्थक रूपले जोरजाम गरेर विकास हाँक्न नसक्ने प्रधानमन्त्री भन्दै अनेक फत्तुरहरू लगाइए तर उनका पालामा भएका सीमाका कुरालाई चोर औंलो ठड्याएर चुनौती दिन सक्ने कोही ‘माइका लाल’ पनि नेपालमा अहिलेसम्म जन्मन सकेको रहेनछ । उनको चुच्चे नक्सा जुनसुकै सवालमा आए पनि यो त्यस्तो जोखिमपूर्ण राष्ट्रियताको भावना पसाइएको निर्णय हो जसको विरोध गर्ने पार्टी र नेताहरू नै जहिले पनि पत्तासाफ हुने स्थिति रहिरहेको छ । यद्यपि नक्सामा मात्र देश बढाएर हुँदैन त्यसको भोगचलन गर्ने अवस्था पनि ल्याउनु पर्छ । सन्ततीले भोलि यही प्रश्न नेकपाका नेताहरूलाई गरिरहने छन् ।

चर्चित लेखिका सरिता तिवारीका शब्दमा ‘दाहाल–नेपाल गुटकै कारण ओली आक्रमक भएका हुन् त्यसैले ओलीमात्र प्रतिगमनका खलनायक हुन सक्दैनन् । यिनलाई खलनायक बनाउनका लागि उक्साउने यी दुवै समेत दूधले नुहाएका छैनन् । प्रतिगमनको धब्बा यिनीहरूलाई पनि लागेको छ । यिनीहरूको सत्तारोहण पश्चात् देश पक्कै पनि अग्रगमनतर्फ जबर्जस्त जाँदैन । त्यसैले धेरथोर मात्र हो यी दुवै प्रतिगमनका मतियार हुन् । जसले ओलीलाई बिच्क्याएका हुन् यो दुर्दिनको सामना गर्नका लागि ।’ तिवारीका तर्कमा दम छन् ।

सत्ताको तिजोरी यी दुवैलाई नहुँदा यिनीहरू आफैँले नेपाली पुरानो उखानलाई सम्झाएका छन् –‘सौताको रिसले पोइका काखमा आची गर्नु ।’ पुस ५ गते पछिका सबै राजनीतिक नियुक्तिहरू नयाँ बन्ने सरकारले उल्टाइदिने कुरा बाहिर आइसकेको छ । यस्तो स्थितिमा संवैधानिक नियुक्ति पाएका ३२ भैयाहरूको कस्तो हरिविजोगले पदबाट बहिर्गमन हुने हुन् त्यो अहिले अड्कल मात्र काट्न सकिन्छ । शब्दचित्रमा यसै भन्न सकिन्नँ ।

नेपाली राजनीति फेरि प्रकारान्तरले पचासको दसककै जस्तो सांसद खरिदविक्री, भेडाबाख्रा रबैया र यो वा त्यो कित्तामा ‘आयाराम गयाराम’ शैलीमा नाँच्ने देखिएको छ । यही परिस्थितिको शुभारम्भमा गत १२ गते फागुन नेकपा दहाल–नेपाल गुटका दुवै शीर्षस्थ नेताहरूले पहिले नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र १३ गते बिहीबार जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई भेटेर सहमतिमा सरकार गठन गर्ने प्रस्ताव राखिसकेका छन् ।

त्यसै भनिएको हो र –‘प्रेम र राजनीतिमा सबै चिज जायज हुन्छ’ भनेर । त्यसैले अहिले जनतालाई भित्री चुरो कुरो बुझाउन सक्ने दह्रो राजनेता चाहिएको छ । यो प्रतिगमन हो या प्रतिगमन सच्चिएको हो ? अनि तेस्रो धार पनि छ –‘प्रतिगमन जिरो माइल !’

जसपाका नेता राजेन्द्र महतोले कटाक्ष गर्दै ‘तपाईंहरूको पार्टी कुन हो ?’ समेत भन्न भ्याइहालेछन् । कांग्रेसले बिहीबार नै पदाधिकारी बैठक राखेर ‘नेकपाको विवाद नसुल्झाएसम्म आफूले संस्थागत सहयोग केही गर्न नसक्ने’ जनाएको छ ।

शेरबहादुर देउवा यतिखेर दबावमा छन् । जनताले उनी र उनको कांग्रेस पार्टीलाई पाँच वर्षसम्म प्रतिपक्षमा रहनका लागि जुन जनादेश दिएका छन् त्यसमा कांग्रेसका नेता डा.शेखर कोइराला र डा.सशाङ्क कोइरालाहरू अझै अडिग रहेको सङ्केत दिइरहेका छन् भने सभापति देउवाचाहिँ सरकारमा जाने मनस्थिति बनाउन लागेका छन् । यसै मेसोमा पनि कांग्रेसमा सत्तामा जाने या सत्ताको लिड गर्ने सबालमा विचार बाझ्न सक्छ । त्यतिखेरको विचार बझाइले अहिलेको नेकपाको फुटजस्तो पक्कै पनि नहोला र ! बीचमा भारतले छिर्के लगाएर पार्टीमै धावा बोल्न सक्छ ।

यी सब कामकुराहरू एकपछि अर्को गर्दै हुँदै गए भने प्रतिगमन त त्यतिबेला पो शुरू हुन जान्छ । फैसला मात्र आएको छ त्यसको समूल कार्यान्वयन हुन अझै संसदको बचेखुचेको २ वर्ष पूरै लाग्न सक्छ । त्यो समयसम्म ओली–कांग्रेस या कांग्रेस–ओली सरकारको ललीपप नेकपा ओली समूहले नदेखाउला भन्न सकिन्नँ ।

बिहीबारै पनि बालुवाटारको नयाँ रणनीति आइसकेको छ । जहाँ भनिएको छ –‘भावी प्रधानमन्त्री प्रचण्ड र पार्टी अध्यक्ष केपी ओली । दुवै नेकपामा एकीकरण भई पार्टीको सुदृढीकरण ।’ कम्युनिष्टहरू अनेक बहानावाजीमा जसरी अनेक फत्तुर लगाएर फुट्न सक्छन् त्यसैगरी पदका कदकाँटी मिलाउनका लागि भोलि नजुट्लान भन्ने के ग्यारेन्टी छ ?

त्यसै भनिएको हो र –‘प्रेम र राजनीतिमा सबै चिज जायज हुन्छ’ भनेर । त्यसैले अहिले जनतालाई भित्री चुरो कुरो बुझाउन सक्ने राजनेता चाहिएको छ । यो प्रतिगमन हो या प्रतिगमन सच्चिएको हो ? अनि तेस्रो धार पनि छ –‘प्रतिगमन जिरो माइल !’