१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्टरलाई विना सर्त रिहा गर्न विप्लव नेकपाको माग


0
Shares

म्याग्दी । बिहीबार म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई विनासर्त रिहा गर्न नेकपाले माग गरेको छ ।

नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनीसमेत दिएका छन् । वक्तव्यमा फिल्टरलाई विनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाइएको छ ।

पक्राउ गरेपछि अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको थियो । म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

दरवाङ क्षेत्रबाट पक्राउ परेका फिल्टर विभिन्न घटनामा संलग्न भएर फरारको सूचीमा रहेको उहाँले बताउनुभयो । एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।

मालिका गाउँपालिका–३ का स्थानीय पुन पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज छन् । चन्द समूह र सरकारबीच वार्ताको चर्चा चलिरहेका समयमा पुन पक्राउ पर्नुले वार्ताको वातावरण थप बिग्रन सक्ने देखिएको छ ।