६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


वीर अस्पतालको नयाँ सर्जिकल भवन प्रयोग गर्न अझै एक वर्ष लाग्ने


0
Shares

प्रज्ञा तिमल्सिना

काठमाडौं । २ अर्ब २९ करोड रुपैयाँ भन्दा बढी लागतमा बनेको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट दिइने सेवा जनशक्ति र उपकरण अभावका कारण सञ्चालनमा आउन ढिलाई हुने भएको हो ।

यही फागुन ५ गते देखि सञ्चालनमा ल्याउने भनिए पनि भवन पूर्ण रुपमा सञ्चालनमा आउन अझै १ वर्ष लाग्ने देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले फागुन ५ गतेदेखि भवन सञ्चालन गर्ने दावी गर्नुभएको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. देभ नारायण शाहले भवन निर्माणको काम ९५ प्रतिशत सम्पन भएको भन्दै सञ्चालन गर्न भने केही दिन ढिलाई हुने बताउनुभयो । डा. शाहले फागुन ५ बाटै भवन संचालनमा आउने हल्ला कहाँबाट आयो भन्दै निर्देशक सेन्चुरीको दाबीप्रति नै प्रश्न उठाउनुभयो ।

भवन उद्घाट्न गरेर मात्रै हुँदैन, सञ्चालनका लागि उपकरण र ८ सय कर्मचारी आवश्यक पर्छ, डा शाहको भनाइ थियो । अस्पताल सञ्चालन गर्न जनशक्ति थप चिकित्सक, नर्सिङ म्यानपावर (सपोटिर्भ वार्ड), सुईपर ब्लाई , सेकियुरिटीलगायत आवश्यकता पर्ने डा. शाहको तर्क छ ।

‘इक्युप्मेन्टको व्यवस्थापन हुनुपर्यो, हामी त्यसको व्यवस्थापनको क्रममा छौ,’ डा. शाहले भन्नुभयो ‘इक्युप्मेन्ट आउन केही समय लाग्छ, अहिले सम्म सक्नुपर्ने भन्ने कुरा कसरी आयो त्यो थाहा भएन ।’

वीर अस्पतालका निर्देशक डा. सेन्चुरीको पदावधि यहि फागुन अन्तिममा सकिन लागेकाले आफ्नो अवधि नसकिैदै भवन संचालनमा ल्याउन लागिपरेको अस्पतालका कर्मचारीहरु बताउछन्। तर निर्माण कम्पनीले भने अझै केही काम बाँकी रहेको भन्दै भवन हस्तान्तरण गरेको छैन् ।

५ सय ९ शैयाको नयाँ सर्जिकल भवनवाट सम्पुर्ण शल्यक्रियाका हुने जनाईएको छ । जसमा १५ वटा मेजर शल्यक्रिया कक्ष, २० वटा सर्जिकल आइसियू, ३० वटा पोष्टअप वार्ड रहने छन । १७ रोपनी क्षेत्रफलमा बनेको यो भवन सञ्चालन गर्न उपकरण कति चाहिन्छ र त्यसको लागत कति पर्छ भन्ने निक्र्यौल अस्पतालले अझै गरेको छैन् ।

न त जनशक्ति राख्ने विषयमा नै तयारी छ । चरणवद्ध रुपमा सेवासुविधा विस्तार गर्दै, जन शक्ति थप्दै जाने तथा अनावश्यक आर्थिक भारमा नपर्ने गरि सेवासुविधा पनि थप्दै जाने सोचमा रहेको डा. शाहले जानकारी दिनुभयो ।

कोरोना संक्रमण केही कम हुदै गएकाले अस्पतालमा विरामीको चाप समेत बढेको छ । वीर अस्पतालमा विरामीको अत्यधिक चाप रहने भएकाले नयाँ भवन बेलैमा संचालन गर्न सकिए विरामीको व्यवस्थापनमा सहयोग पुग्नेमा शंका छैन ।