१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपालका केन्द्रीय सदस्य हटाउने ओलीको चेतावनी, भन्छन्– ‘नियुक्ति दिनेले बदर पनि गर्नसक्छ’


0
Shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई हटाइदिने चेतावनी दिनुभएको छ ।

सोमबार पोखरामा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले नियुक्ति दिनले नियुक्ति बदर पनि गर्न सक्ने भएकाले जरुरी परेका बेला दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई हटाइदिनसक्ने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफूले दिएको बहुमत गतल प्रयोग गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरू (दाहाल–नेपाल समूह)सँग भएको बहुमत मैले दिएको हुँ, पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रूपमा प्रयोग भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला हटाउन सकिन्छ, नियुक्ति दिनेले नियुक्ति बदर पनि गर्न सक्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूमाथि भौतिक आक्रमण हुनसक्ने शंका व्यक्त गर्नुभएको छ । उहाँले देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रूपमा हटाउन दाहाल–नेपाल समूहलाई चुनौती दिनुभयो । विधि र पद्धतिअनुसार हटाए प्रतिपक्षमा बस्न तयार रहेको बताउँदै उहाँले बैठकमा विधिवत रूपमा भेट्न पनि आह्वान गर्नुभयो । डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ बहुमत ल्याउने प्रधानमन्त्री ओलीको दाबी थियो ।

प्रधानमन्त्री ओलीले संसद विघटनपछि देशले निर्वाचनको बाटो लिए पनि सर्वोच्चको फैसलाले देश फेरि अलमलमा फसेको जिकिर गर्नुभयो । आफूहरूले सर्वोच्चको फैसला माने पनि त्यसले कुनै परिणाम नदिने उहाँको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा सहयोग पु¥याउन दाहाल—नेपाल समूहलाई आग्रह गर्नुभएको छ । उहाँले प्रचण्ड र नेपाल सच्चिने यो अन्तिम अवसर भएको बताउनुभयो । अदालतको फैसलाले अवसरवादीहरूलाई सच्चिने मौका दिएका उहाँको भनाइ छ ।