
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसम्बन्धी नीतिहरू बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको हो ।
वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि जनताको साथ लिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औल्याउनुभयो । नीतिमा दिगो वन विकास हुनुपर्ने तर्क गर्दै उहाँले प्रतिफल दिने विकास नीति हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न भूमिका खेलेको बताउनुभयो । उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनलाई पुनर्जीवन दिएकाले वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको दावी गर्दै वनको अधिकतम सुरक्षा र विकास गरी जनता र राष्ट्रले अधिकतम प्रतिफल लिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्