
ताप्लेजुङ । दोभान बजारमा भएको आगलागीबाट ४७ घर जलेर नष्ट भएका छन् ।
मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहान ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका ७९ परिवार विस्थापित बनेको प्रहरीले जनाएको छ । आगो अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आएको छैन ।
बजार क्षेत्रका केही घरहरु भत्काए पछि थप घरहरु आगोको जोखिमबाट बचेका छन् । आगो नियन्त्रणमा तीनवटै निकायका सुरक्षाकर्मी, स्थानीयबासी खटिएका छन् । फुङलिङ नगरपालिकाको दमकल र एक्साभेटरको प्रयोग गरी आगो नियन्त्रणको प्रयास गरेको हो ।
विद्युत् सर्ट भई स्थानीय भोला पौडेलको घरबाट आगो सुरु भएको भनिए पनि एकिन भएको छैन । टिनको छाना लगाइएका कच्चि घरहरू भएकाले छोटो समयमा नै धेरै क्षेत्रमा आगो फैलिएको थियो ।
दोभान बजार जिल्लाको दोश्रो ठूलो व्यापारिक केन्द्र हो । जलेका प्राय घरहरुमा अलैँचीको गोदामलगायत पसलहरु रहेकाले ठूलो परिमाणमा क्षति भएको छ । तर क्षतिको विवरण एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्