८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बढ्यो बलात्कार, हरेक तीन घण्टामा एक महिला/बालिका बलात्कृत


0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १३ औं दिनमा एक आरोपीलाई पक्राउ गरी १४औं दिनमा प्रहरीले सार्वजनिक गर्न सफल भयो ।

साढे २ वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बलात्कार र बलात्कारपछिको हत्याका घटनाका अपराधी भने कम मात्रै पक्राउ पर्दै आएका छन् ।

पछिल्लो साढे २ वर्षमा ५ हजार ६ सय ३४ वटा बलात्कारका घटना भएका छन् । जसमा १६ जनाको बलात्कारपछि हत्या नै भएको छ । तथ्याङ्कलाई हेर्दा हरेक दिन औसतमा सात जना महिला तथा बालिका बलात्कृत हुने गरेको देखिएको छ । यसलाई हिसाब गर्दा हरेक तीन घण्टामा एउटा बलात्कार भइरहेको छ ।

त्यस्तै, चालू आर्थिक वर्ष २०७७÷७८ मा मात्र १४ सय ३७ वटा बलात्कारको घटना भएका छन् । त्यसमध्ये पनि बलात्कार हुने अधिकांश महिलाहरू १९ देखि २५ वर्ष उमेर समूहभित्रका हुने गरेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो ।

समाजमा बढ्दै गएको आपराधिक मानसिकताको सोच र दण्डहिनताका कारण बलात्कारका घटना बढ्दै गएको छ । बलात्कारका घट्ना बढ्दै जानु तर अपराधी भने सजिलै उम्कनु चिन्ताको विषय बनेको छ । चिनजानकै व्यक्ति र परिवारभित्रकै सदस्यहरू नै बलात्कारका घटनामा संलग्न देखिनुले अवस्था कति भयावह छ भन्ने पुष्टि गर्छ ।

प्रहरीका अनुसार गत ७ महिनाको अवधिमा प्रदेश १ मा ३ सय ६०, प्रदेश २ मा २ सय ९, बागमती प्रदेशमा १ सय ५७, काठमाडौं उपत्यकामा १ सय ३५ महिला तथा बालिका बलात्कृत भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा १ सय ९, लुम्बिनी प्रदेशमा २ सय ३९, कर्णाली प्रदेशमा ८८ र सुदूरपश्चिम प्रदेशमा २ सय ४० जना महिला तथा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।