८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मित्रसेनको अभियान जोगाउन ५ करोडको अक्षय कोष


0
Shares

काठमाडौं । जेष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा ५ करोडको अक्ष्यकोष घोषणा भएको छ ।

सामाजिक अभियानमा सक्रिय रहँदा रहँदै हृदयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२ औं पुन्य तिथिमा अक्षयकोष घोषणा गरिएको हो । दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो ।

मित्रसेन दाहालको बहुआयामिक व्यक्तित्वलाई चीरस्थायी बनाई राख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पुर्याउन कोषको रकमबाट आएको आम्दानी खर्चने कोष संचालक समितिले जनाएको छ ।

दर्जनौ सामाजिक संस्थामा आवद्धता, हजारौ विद्यार्थीलाई छात्रबृति सहयोग गरेको दाहालले मृगौला प्रत्यारोपण पछि मैत्री सेवाश्रम नामक जेष्ठ नागरिक ग्रामको सुरुवात गर्नु भएको थियो ।

मृगौला प्रत्यारोपणपछि पाएको जीवनलाई बोनसको जीवन बताउने दाहालले करिब एक दशकमै काठमाडौंका लप्सेफेदीमा ३३ वटा घरसहितको जेष्ठ नागरिक ग्राम स्थापित गर्नु भएको थियो ।

थप सय रोपनी जमिनमा अझ धेरै सुविधासम्पन्न ग्राम निर्माणको योजना भने दाहालको निधनसँगै अलपत्र परेको छ ।

अक्षयकोष संचालक समितिले कोषको नाम ’मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा कोष’ नामाङकन गरेको छ । कोषमा प्राथमिक चरणमा परिवारका सदस्यहरूसहित सुभचिन्तकहरुले स्थापनाकै दिन करिव सवा ५५ लाखको योदान दिएका छन् ।

भाइ तथा जेपी प्रतिष्ठानका संचालक हरि दाहालबाट ११ लाख ११ हजार एक सय ११ तथा मित्रसेन दाहालकी धर्मपत्नी शकुन्तला दाहालबाट ५ लाख ५५ हजार ५५५ रुपैया योगदान गरेका छन् भने अन्य सहयोगिहरुको योगदानबाट मंगलबार नै कोषमा ५५ लाख २१ हजार ८ २१ रुपैया जम्मा भएको छ ।

दाहालको मैत्री सेवाश्रम नामक जेष्ठ नागरिक ग्रामको सोच नेपालका लागि नविन सोच भएको भन्दै नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो ।

२०६९ सालमा नेपाल सरकारको नीति तथा कार्यक्रममा नै समेटेर पाँच विकास क्षेत्रमा जेष्ठ नागरिक ग्राम निर्माण गर्ने घोषणा गर्दा तात्कालिन मध्यामाञ्चल विकास क्षेत्रका लागि दाहालले ६६ सालबाट नै सुरुवात गरेको काठमाडौंको लब्से फेदिमा रहेको मैत्री सेवाश्रम छनौट भएको थियो ।

सरकारको घोषणा अनुसार केही सहयोग गरेपनि करिव अर्व रकम बराबरको परियोजना दाहाल आफै विभिन्न क्षेत्रको सहयोगमा निर्माण गरेका थिए ।

काठमाडौंको लप्सेफेदिमा दाहालले निर्माण गरेको मैत्री सेवाश्रम सोसल वर्क विषयका विद्यार्थी, समाजसेवाको अनुसन्धान तथा अध्ययनमा रुचि राख्नेहरु तथा आफै समाजसेवामा सहागि हुनेहरुका लागि गन्तव्य बनेको छ ।

मैत्री सेवाश्रममा आश्रित जेष्ठ नागरिकहरु दाहालको अनुपस्थितिमा अविभावक विहिन नबनुन् भन्ने उद्देश्यबाट कोषको स्थापना भएको हो ।

जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय दाहालले नेपाली कांग्रेस ओखलढुंगाको सचिव, नेपाली कांग्रेका महासमिति सदस्य, हिमाल सिमेन्टको महाप्रवन्धक, एनपीटीसी लिमिटेडका अध्यक्षसहित दर्जनौ सरकारी तथा गैरसरकारी संघसंंस्थामा जिम्मेवारी बहन गरेका थिए ।

चिन्तन र अनुभूती, कथा र व्यथाको यात्रा, मृगौला रोग र समाधान जस्ता १३ कृतिका लेखक दाहालको सहित्य र लेखकीय क्षेत्रसमा समेत योगदान छ ।

लेखकीय स्वतन्त्रताका पक्ष्म समेत वकालत गर्ने दाहाल नेपाली लेखक संघको कार्यक्रममा समेत विशेष योगदान रहेको छ ।

दाहालले ओखलढुंगाका करिव तीन हजार सहित देशभरका करिव ५ हजार विद्यार्थीलाई जेपी प्रतिष्ठान मार्फत छात्रबृत्ति प्रदान गरी अध्ययनमा सहयोग गरेका थिए ।

नेपालमा विज्ञापन व्यवसाय र विकास नामक पुस्तकका समेत लेखक रहेका दाहाल विज्ञापन संघका संस्थापक अध्यक्ष हुन् ।

नेपालमा विज्ञापन एजेन्सी मार्फत व्यवसाय प्रवद्र्धन गर्ने सुरुवातकर्ता दाहाल निजी स्तरको सगरमाथा टेलिभिजनका संस्थापक मध्येका एक हुन् ।

दाहालको जम्म वि. सं. २०१९ साल मंसिर ४ गते ओखलढुंगा जिल्लाको बरुणेश्वर गाविस, ४ लामिडाँडा पिता जयप्रसाद र आमा डम्बरकुमारी दाहालको कोखबाट भएको थियो ।